काठमाण्डुमा २४ सै घण्टा रात्रिकालीन व्यवसाय चलाउने तयारी

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते १:०४ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख – प्रहरीले पूर्वाधार विकास गरेर उपत्यकाको रात्रिकालीन व्यवसाय २४सै घण्टा सञ्चालन गर्न दिने भएको छ ।

प्रहरीको माग अनुसार व्यवसायीहरु पूर्वाधार विकासमा लागेका छन् । ठमेल, दरबारमार्ग, सुन्धारालगायतका क्षेत्रमा रात्रिकालीन व्यवसाय सुरक्षित र मर्यादित रुपमा रातभरि सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ ।

२४ घण्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न प्रहरीले मुख्य तीन सर्त राखेको छ ।

पूर्वाधारका रुपमा सवै एरिया कभर हुने गरी सिसिटिभी जडान, निजी क्षेत्रले नै रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउृँमा निजी सुरक्षा गार्ड राख्ने, र सडकबत्तिको व्यवस्था गर्नुपर्ने सर्त प्रहरीले राखेको छ ।

व्यवसायीहरुले प्रहरीको माग पूरा गर्न गृहकार्य थालेका छन् ।

रात्रिकालीन व्यवसाय खोल्न दिन सकारात्मक रहेको काठमाण्डु प्रहरी प्रमुख एसएसपी रमेश खरेलले बताए ।‘ यसका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ, खरेलले भने ‘सरोकारवाला पक्षहरुसँग थप औपचारिक छलफल गर्ने तयारीमा छौं । ’

रात्रिकालीन व्यवसाय पर्यटनको प्रमुख आधार भएको भन्दै लामो समयदेखि व्यवसाय चलाउन पाउनुपर्ने माग व्यवसायीले राख्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us