
काठमाण्डु – गरिबी र पारिवारिक झमेलाका कारण नेपालबाट प्रत्येक दिन चार-पाँच जना बालबालिका हराउने गरेका छन् ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत बालबालिका खोजतलास समन्वय केन्द्रले गरेको अध्ययनले पारिवारिक वातावरण तथा गरिबीका कारण बालबालिकाले घर छोड्ने गरेको देखाएको हो ।
दिन प्रतिदिन बालबालिका हराउने तथा आपराधिक क्रियाकलापको सिकार हुने प्रक्रिया बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले विसं २०६३ मा सो केन्द्रको स्थापना गरेको थियो ।
केन्द्रले बालबालिका खोजतलास तथा उद्धारसम्बन्धी कार्य तीव्ररुपमा गरेको भए पनि त्यसको व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा बालबालिकाको जोखिम कम हुन नसकेको केन्द्रका कर्मचारीले गुनासो गरेका छन् ।
बालबालिकाको अधिकार संरक्षण गर्नका लागि सरकारी निकायको सबैभन्दा ठूलो हात हुने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने केन्द्रका कार्यकारी अधिकृत भीमविक्रम शाहीले सुझाव दिए । उनका अनुसार सो केन्द्र जस्तै बालबालिका खोजी गर्ने निकाय अन्य क्षेत्रमा विस्तार गर्न नसक्नाले पनि बालबालिका हराउने क्रम रोकिन सकेको छैन ।