
काठमाण्डु,१६ वैशाख – एसीसी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली टोली मंगलबार मेलसिया प्रस्थान गर्ने भएको छ । एक महिनाअघि बंगलादेशमा सम्पन्न टीट्वान्टी विश्वकपमा उत्साहजनक प्रर्दशन गरेर फर्किएपछि नेपाली टोलीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
प्रशिक्षक पुबुदु दासानायकेले छोटो तयारी भए पनि नेपाल उपाधिको दाबेदार भएको दाबी गरे । ‘विश्वकपमा गरेको प्रर्दशनका आधारमा नेपाल प्रिमियर लिगमा पनि उपाधिको दाबेदार टोली हो । बंगलादेशमा जस्तै जुझारु प्रर्दशन गर्न सक्यौं भने हामीले उपाधि जित्नेछौं दासानायकेले भने ।
विश्वकपबाट फर्किएपछि राष्ट्रिय क्रिकेटर र नेपाल क्रिकेट संघ क्यानबीचको विवादका कारण प्रिमियर लिगको तयारी केही समय अवरुद्ध भएको थियो । यसैगरी राष्ट्रिय क्रिकेट प्रतियोगिताले पनि बन्द प्रशिक्षणमा बाधा पु¥याएको थियो ।
प्रशिक्षक दासानायकेले तयारी राम्रोसँग हुन नसकेकोमा निराशा व्यक्त गरे ।
टोलीमा नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, नरेश बुढाऐर, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, र सोमपाल कामी टोलीमा छन् । यसपटक जितेन्द्र मुखिया, अविनाश कर्ण, र अमृत भट्टराई चोटग्रस्त भएकाले टोलीमा परेका छैनन् ।
१४ सदस्यीय टोलीमा राजकुमार प्रधान र अलराउण्डर मेहबुव आलम पनि परेका छन् ।