मृत्यु गुफामा १५ घण्टा

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १:३८ मा प्रकाशित

पोखरा, १४ वैशाख– शुक्रबार दिउँसो अचानक नराम्रो खबर आयो–मादी सुरुङ पहिरोले चेपियो, भित्र काम गरिरहेका १६ मजदुर थुनिए, ज्यानको आस छैन ।’
कास्की सिल्दजुरे गाविसस्थित निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा रहेकी खोटाङकी रमिलाको मनमा यो खबरले एकैचोटि १२ रेक्टर स्केलको भूकम्प ल्याइदियो । वरिपरि अँध्यारो छायो, पीडा, भय र आशंकाले अन्योलको खाडीमा धकेलिइन् ।

चिन्ताको भीमकाय पहिरोमा चेपिइन् ।
सुरुङभित्र रमिलाका पति सुजन ओली पनि थिए । बिहानै खाना खाएर पत्नीसँग बिदा भएर काममा निस्किएका थिए सुजन । पाँच महिनाअघि मात्र भागीबिहे गरेका रमिला घर भित्रिएकै थिइनन् । विद्युत आयोजनाको मजदुरीले ज्यान पाल्दै जिन्दगीको मिठो सपना देखिरहेका बेला अचानक सुन्नुपरेको खबरले रमिला हुनुसम्म आहत भइन् । दौडंदै आयोजनास्थल पुगिन् । चिच्याइन्, कहालिइन् ।

सास अड्किएलाजस्तो भयो । सुरुङबाहिर बसेका आफन्तको पर्खाइमा बसेकाहरुको चित्कारमा उनको बिलौना पनि मिसियो । करिब एक घण्टापछि कसैले सुनाइदियो, ‘सुरुङभित्र थुनिएका जिउँदै छन्जस्तो छ, भित्रबाट आवाज आयो ।’ सुरुङबाहिरको माहोल अलि उज्यालियो । रमिलाको मनमा आशाको दियो बल्यो । १६ जनामध्ये १३ जना एकैठाउँमा सकुशल छन् भन्ने सन्देश आयो । रमिलाले हात जोडेर भगवान गुकारिन्–त्यो आवाज आफ्नै पतिको होस् ।

यसबीच सुरुङभित्रबाट बाहिर निस्किएको पाइपमार्फत अक्सिजन र पानी पठाउने क्रम लगातार चलिरह्यो । त्यही पाइपबाट आएको साउती मारेजस्तो आवाज पछ्याउँदै उद्धारकर्ता पहिरो पन्छाइरहे । साँझ पर्‍यो, रात छिप्पियो । मृत्युको अत्यासलाग्दो गुफामा फसेकाहरु जति तड्पिएका थिए, त्योभन्दा बढी बाहिर रमिलाजस्ता थुप्रै आफन्त बाँचेर पनि ‘मरिरहेझैं’ थिए । उद्धार टोलीको अथक प्रयासले शनिबार बिहान सवा ३ बजे बल्ल खुल्यो सुरुङ ।

थुनिएकाहरु धमाधम बाहिर निस्किए । मानौं, उनीहरु दोस्रोपटक गर्भाशयबाट बाहिरिंदै थिए पुनर्जन्म लिएर । १५ घण्टासम्म मुत्युभयले चिथोरिएकाहरुको मुहार जिन्गदीको आभाले दीप्त देखिन्थ्यो । पतिलाई जीवित देखेपछि रमिलाले हर्षका आँशु थाम्न सकिनन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पति छेउमा बसेकी उनले भनिन्। ‘बल्ल मेरो सास आयो । सबैथोक छाडेर उहाँसँग आएकी, अहिलेसम्म घर भित्रिन पाएकी छैन, तलमाथि भइदिएको भए मेरो के हुँदो हो ।’ सुजन पनि आफूले पुनर्जन्म पाएको महसुस गरिरहेका थिए ।

‘मलाई त बाँचिन्छजस्तो लागेकै थिएन, पुनर्जन्म पाएझैं भएको छ’, उनले सुरुङभित्रको कहालीलाग्दो क्षण सुनाए, ‘१५ घण्टा रमिलालाई सम्झेर छट्पटिरहें शुक्रबार दिउँसो १ बजेदेखि फसेका मध्ये चिनियाँसहित १३ जनाको शनिबार बिहान सवा ३ बजे १५ घण्टापछि उद्धार गरिएको थियो ।

।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us