
काठमाण्डु, १४ वैशाख – पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरुले एलएलसी उत्तरपुस्तिका नजाँच्ने चेतावनी दिएका छन् ।
हातमा कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले १५ वैशाखसम्म आफ्ना माग सम्बोधन नगरे देशभर उत्तरपुस्तिका नजाँच्ने तयारीमा जुटेका हुन् । शिक्षकहरुले अहिले एउटा उत्तरपुस्तिका परीक्षण गरेको १५ रुपैयाँ पाउने गरेका छन् ।
पाँच बर्षदेखि महँगी निकै बढे पनि पारिश्रमिक नबढेको भन्दै शिक्षकहरुले आफ्ना माग सम्बोधन नगरे परीक्षण नै नगर्ने चेतावनी दिएका हुन् । एसएलसी उत्तरपुस्तिका परीक्षण समितिको आव्हानमा १२ वैशाखदेखि उत्तरपुस्तिका परीक्षण नगर्ने कार्यक्रम भए पनि चरणबद्ध रुपमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका हुन् ।
समितिका सहसंयोजक हरेराम ठाकुरले भने ‘ अहिले हामी कालोपट्टी बाँधेर काम गरेका छौं, १५ गतेसम्म माग सम्बोधन नभए देशभर उत्तरपुस्तिका परीक्षण बन्द हुन्छ ।’ उनले ०६५देखि परीक्षणको पारिश्रमिक एउटै रहेको बताए ।
बिगतमा पनि शिक्षकहरुले आन्दोलन गरेर पारिश्रमिक बढाएका थिए । ०६२ मा आन्दोलनपछि नौ रुपैयाँबाट बढाएर १२ रुपैयाँ भएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।