एमालेमा विचार भन्दा पदको लडाइँ….

काठमाण्डु टुडे २०७१ वैशाख १० गते १२:३८ मा प्रकाशित

UML Logo originalकाठमाण्डु, १० वैशाख – नेकपा (एमाले)ले आगामी नवौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भने तापनि पार्टी नेतृत्वका लागि कम्तीमा दुई पक्षबीच टकराव हुने स्पष्ट सङ्केत देखिएको छ ।

एकताको महाधिवेशन बनाउने भनेर बहस, छलफल र विचार सम्प्रेषण गर्दै आएका एमालेका युवा पङ्क्तिनै अहिले स्पष्ट रुपले दुई खेमामा विभाजन भई नेतृत्वका लागि आ–आफ्नो पक्षमा वकालत गर्ने कार्यलाई तीव्रता दिइरहेका छन् ।
आगामी नवौँ अधिवेशनबाट एमालेको नेतृत्व लिन अध्यक्षमा उम्मेदवारी दिने विषयमा आफूहरू तयार रहेको वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का प्रभावशाली नेता केपी ओलीले भनाइ सार्वजनिक गरिसेकका छन् ।

अहिले दुवै नेताले दललाई हाक्नका लागि आफूमात्रै सक्षम, इमान्दार र योग्य भएको दावी गर्दै आ–आफ्नो नाममा सहमति जुटाउन दल बलसहित बहस र पैरवीमा जुट्ने प्रयासको थालनीमा छन्
दुई दिनयता नेता नेपाल र ओली दुवै पक्षमा रहेका युवा नेताले बेग्लाबेग्लै कार्यक्रम गरेर आगामी महाधिवेशनमा पार्टी नेतृत्वका आफ्नो समूहको उम्मेदवारी किन आवश्यक छ भनेर छलफल चलाएर विचार सम्प्रेषण गरिसेकका छन् ।

आगामी नेतृत्वका लागि स्पष्ट रुपमा देखिएको यस प्रकारको गुटबन्दीलाई परास्त गरी नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी र लोकतान्त्रिक आन्दोलनका निर्णायक शक्तिका रुपमा स्थापित एमालेको गरिमालाई राष्ट्रिय राजनीतिमा अझ खरोका साथ उत्रार्न आवश्यक रहेको भनाइ पार्टी पङ्क्तिमा उत्तिकै जोडतोडका साथ उठिरहेको छ ।

उता, लामो समयसम्म सहयात्रीका रुपमा एमालेको नेतृत्वमा रहेर काम गरेका दुवै नेताले आफू स्वयम्लाई मात्र योग्य देख्ने र अर्काे पक्षलाई कमजोर देख्ने गरी आइरहेको सार्वजनिक अभिव्यक्तिलाई इमान्दार र सिद्धान्तनिष्ट कुनैपनि कार्यकर्ताले पचाउन सकेका छैनन् ।

एमालेको आगामी महाधिवेशनले लिने निर्णयले राजनीतिक स्थायित्व कायम गरी लोकतन्त्र र विगतको जनआन्दोलनका उपलब्धीहरूलाई संस्थागत गरी मुलुकलाई समृद्धतर्फ लैजान कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

आगामी जेठ २४ देखि ३१ गतेसम्म काठमाडौँमा हुने सो महाधिवेशनले कस्तो विचार र सिद्धान्त अघि बढाउनु उपयुक्त हुन्छ भनेर पार्टीभित्र विचार र सिद्धान्तका बारेमा गहन बहस र छलफल भइरहेको छ ।

महाधिवेशनलाई एकताको रुपमा लैजान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज तयार गर्न अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन निर्माण कमिटीसमेत गठन भइसकेको छ ।

नेपाली राष्ट्रिय राजनीतिमा लोकतान्त्रिक चरित्र बोकेको राजनीति दलका रुपमा स्थापित एमाले अन्य पार्टीको तुलनामा आन्तरिक हिसाबले पनि लोकतान्त्रिक अभ्यास गर्ने दलका रुपमा रहेको भन्न रुचाउने गरेको छ ।

यथास्थितिवादी, दक्षिणपन्थी, उग्रवामपन्थी समूह र विचारसँग जुद्धै जनताको बहुदलीय जनवादमार्फत सबै तह र तप्कालाई एकाकार गरेर लैजान सकिन्छ भन्नेमा अहिले पनि एमाले अडिग रहेको छ । पार्टीको पाँचाँै महाधिवेशनबाट जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राजनीतिलाई अघि बढाउने एमालेले निर्णय लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us