
दमासकस, ९ वैशाख – निकै लामो विवाद र विरोधका बीच सिरिया सरकारले आगामी जुन महिनामा राष्ट्रपति निर्वाचन गर्ने भएको छ ।
सिरियामा नागरिक हत्याको शृङ्खला व्यापक रहेकै बेला यो निर्वाचन घोषणा गरिएको समाचारमा जनाइएको छ ।
यस निर्वाचनपछि सिरियाली राष्ट्रपति बसार अल असाद पुन सत्तामा बलियो हुने अनुमानहरु गर्न थालिएको छ ।
सिरियामा भने रासायनिक हतियारको प्रयोग गरी आमहत्या गरेको आरोपमा राष्ट्रपति असादमाथि छानबीन जारी नै रहेको छ ।
सिरियाली राष्ट्रपति असादको विरोधमा त्यहाँ तीनवर्षभन्दा लामो समयदेखि आन्दोलन जारी रहेको छ ।
सो हिंसात्मक आन्दोलनबाट एक लाख ५० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । सो हिंसामा हजारौँ सुरक्षाकर्मी पनि मारिएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनादेखि असादका विरुद्धमा आन्दोलन सुरु भएको हो । सो आन्दोलन अहिले पनि जारी नै रहेको छ ।