‘आरोहीका परिवार र घाइतेलाई थप सहायता’

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ३:०४ मा प्रकाशित

सरकारले हालै हिउँपहिरोमा परी ज्यान गुमाएका १३ जना शेर्पा आरोही तथा पथप्रदर्शकहरुका परिवार तथा घाइतेहरुलाई थप आर्थिक सहायता उपलब्ध गराइने जनाएको छ।Sherpa

आरोहणसँग सम्बद्ध विभिन्न पक्षले उठाएका सुविधा वृद्धिसहितका केही माग सम्बोधन गर्नेसम्बन्धमा मंगलबारसम्ममा सुझाव पेश गर्ने गरी एउटा कार्यदलसमेत गठन गरिएको छ।

पर्वतारोहणमा मुलुकको छवि विश्वमानै उचो राख्न भूमिका निर्वाह गरेका शेर्पा आरोहीहरुलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि सार्वजनिक भइरहेका बेला पछिल्ला निर्णयहरु आएका छन्।

सरकारले मृतकका परिवारलाई किरिया खर्चवापत ४० हजार रुपैयाँमात्रै दिने घोषणा गरेपछि शेर्पा आरोहीका आफन्त तथा आरोहणसम्बद्ध पक्षहरुले चर्को असन्तुष्टि पोखेका थिए।

त्यसपछि उक्त आर्थिक सहायताबाहेक नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न सरोकारवाला पक्षबाट मृत्यु भएकाका आफन्तलाई १ लाख २५ हजार तथा घाइतेहरुलाई ६५ हजार आर्थिक सहायता जुटाउने सरकारी घोषणा आएको छ।

सरोकारवाला पक्ष र पर्यटन मन्त्रालयका अधिकारीहरुबीच सोमबार भएको छलफलले हिमाल आरोहणमा ज्यान गुमाएका तथा हराइरहेकाहरुको सम्झनामा आरोही स्मारक निर्माण गर्ने निर्णय पनि गरेको छ।

साथै आरोही कल्याणकारी कोषको स्थापना, बीमा रकममा वृद्धि, घटनामा ज्यान गुमाएका तथा घाइतेका बालबालिकालाई शिक्षाको व्यवस्था गर्ने लगायतका विषयमा एक दिनभित्र सुझाव दिन कार्यदल समेत गठन गरिएको छ।

यी निर्णयसँगै आरोहणसम्बद्ध पक्षहरुले उठाएका कतिपय मागहरु सम्बोधन भएको भन्दै पर्यटन मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले पछिल्लो घटनाले आरोहणमा उल्लेखनीय असर नपार्ने बताए। उनले भने, ”यो घटनाले दुई चार दिन ढिलो हुन सक्ला, तर आरोहणमा उल्लेखनीय असर पार्दैन।”

पछिल्लो सरकारी घोषणासम्बन्धमा शेर्पा आरोहीहरुको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन। यसवर्ष सगरमाथा आरोहण नगर्ने शेर्पाहरुको घोषणा कार्यान्वयन भए त्यसले पर्यटनमा असर पार्न सक्छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us