थिमीका सबै जात्रा सम्पन्न, भक्तपुरमा रथ जुधाइयो

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते १२:५८ मा प्रकाशित

भक्तपुर, ४ वैशाख । मध्यपुर थिमीको बोडेमा हरेक वर्ष मनाइने बिस्केट जात्राअन्तर्गतको जिब्रो छेड्ने जात्राको चार दिन अगाडि उभ्याइएको लिङ्गो आज विधिपूर्वक ढालिएको छ ।

बोडेको महालक्ष्मी र नाटेश्वर मन्दिरअगाडि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने दिन जिब्रो छेडिदिने कर्मी नाइकले जात्राको लिङ्गो उभ्याउने परम्परा रहेको छ ।

बोडेका सबै देवीदेवताका मठमन्दिरको पूजाअर्चना सकेर र जिब्रो छेड्ने व्यक्ति जुजुभाइ बाँस श्रेष्ठले आफन्तलाई भोज खुवाइसकेपछि लिङ्गो ढालिएको जात्रा व्यबस्थापन समितिका सदस्य दिलकृष्ण प्रजापतिले बताउनुभयो । लिङ्गो ढालेपछि थिमीका सबै जात्रा सकिने परम्परा छ ।

यस्तै मध्यपुर थिमीको बोडेवासीले मनाउँदै आएका परम्परागत वर्षाको चापमान यन्त्रका रूपमा लिइने अन्नरस चढाउने जात्रा हर्षोल्लासका साथ मनाइएको छ ।

परम्पराअनुसार बिस्केटजात्राको अवसरमा बोडेमा मनाइने जात्राका सबै देवतालाई विभिन्न प्रकारका अन्न चढाउने कार्य गरिन्छ, यसलाई गल थनेगु भन्ने गरिन्छ । बोडेको महालक्ष्मी र भैरवनाथको बीचमा रहेको एउटा सानो खाल्डोमा जाँडको अन्नरस खन्याउने परम्परालाई गल थनेगु भनिन्छ ।

चारपाँच घैंटोमै भरिने सानो खाल्डोमा स्थानीय बासिन्दाले अन्नरस भर्ने प्रचलनअनुरूप दसबाह्र घैंटोको अन्नरसले खाल्डो भरियो भने यस वर्ष समयमै पानी पर्ने र समयमै रोपाइँ हुने अन्यथा पर्याप्य वर्षा नहुने, समय मै रोपाई पनि नहुने एवम् अन्नको मूल्यवृद्धि हुने जनविश्वास छ ।

यसैगरी बिस्केटजात्राको अवसरमा भक्तपुरमा मनाइने महालक्ष्मी र महाकालीबाट खट जुधाउने जात्रा भक्तपुरमा सम्पन्न भएको छ ।

भोलाछेंस्थित महाकाली देवीको द्योछें (देउता घर) बाट सुरु भएर थालाछें टोलमा अवस्थित महालक्ष्मीदेवीको द्योछेंसम्म र नागपोखरीको आसपासमा मनाइएको छ ।

महाकालीदेवीको विमानखटलाई अगाडि र पछाडिका समूहले खटलाई बोकी सुनको गजुर भएको छाताले ओढाई टोलटोल घुमाउँदै सो जात्रा मनाइएको छ । महाकाली विराजमान खट र महालक्ष्मी विराजमान खटलाई घुमाउँदै महालक्ष्मीदेवीको पीठमा पु¥याएर एकआपसमा जुधाइएको थियो ।

खट जुधाउँदा दुवै देवीको प्रसाद आदानप्रदान एवम् साटासाट गर्ने र खटका निगालो मुठा बालेको बत्ती साटासाट गर्ने परम्परा छ । त्यसपछि महाकाली र महालक्ष्मीलाई आ–आफ्नो स्थानमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us