अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्योलमा

काठमाण्डु टुडे २०७० चैत २७ गते ३:०५ मा प्रकाशित

flag of akhil- krantikariकाठमाण्डु, २७ चैत– नेतृत्व चयन प्रक्रियाबारे विवाद चर्कंदै गएपछि एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलन अन्योलमा परेको छ ।

निर्वाचन वा सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्ने भन्नेमा सम्मेलनका प्रतिनिधि दुई धारमा देखिएका छन् । संस्थापन पक्षका प्रतिनिधि निर्वाचनमार्फत तथा नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर सहमतिमा नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् ।

निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यविधि बन्द शत्रले पारित गरे पनि निर्वाचन प्रक्रिया सुरु हुनै लाग्दा भट्टराई र श्रेष्ठ पक्षले सहमति हुनुपर्ने भन्दै नाराबाजी गरेपछि बुधबार स्थगित भएको बन्दशत्र अझै सुरु हुन सकेको छैन ।

विवादपछि संगठनका २५ जना पूर्वपदाधिकारीले संयुक्त हस्ताक्षर गरी पार्टी हेर्डक्वाटरको निर्णय मान्ने बेहोराका पत्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए ।

त्यसपछि विद्यार्थी नेताहरुको समेत उपस्थितिमा प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बसेको पूर्वपदाधिकारी सम्मिलित केन्द्रीय कार्यालय बैठकले तत्कालका लागि निवर्तमान अध्यक्ष हिमाल शर्मा नेतृत्वकै कार्यसचितिलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

तर अधिकांश प्रतिनिधिले त्यसलाई अस्वीकार गर्ने बताएका छन् । शर्मालाई नै निरन्तरता दिने निर्णयविरुद्ध उत्रिएका १९ वटै राज्य समिति संयोजकले शीर्ष नेतालाई भेटेर उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् ।

बहुमत प्रतिनिधिको हस्ताक्षरसहित उनीहरु आज बिहानै अध्यक्ष प्रचण्ड नेता बावुराम भट्टराई,नारायणकाजी श्रेष्ठलाई भेटेर हिमाल शर्मालाई अध्यक्ष नमान्ने बताएका छन् ।   ।

उनले वैशाखमा हुने पार्टी राष्ट्रिय सम्मेलनपछि नयाँ ढंगले अघि बढ्ने भन्दै पार्टी निर्णय मान्न आग्रह गरेको भेटमा सहभागी निवर्तमान सचिवालय सदस्य दीपक देवकोटाले काठमाण्डु टुडेलाई जानकारी दिए ।

‘हामीले निर्णय सच्याउन माग गर्‍यौं, अध्यक्षले बाध्यताबस हिमाललाई निरन्तरता दिुनुपरेकाले स्वीकार्न भन्नुभयो’, देवकोटाले भने ।

निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै बन्दशत्र हल कीर्तिपुर स्मृति भवनमा प्रतिनिधिले नाराबाजी गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us