
काठमाण्डु, चैत – साँघुरा गल्लीमा समेत आगलागी नियन्त्रण गर्न हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बारुणयन्त्र कार्यालयलाई १० वटा तुफान फायर मोटरसाइकल सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
उक्त बजाज तुफान मोटरसाइकल हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले बजाज समूहको प्रशंसा गर्दै यस्ता नवीन कार्यले महानगरभित्र हुने विपद्का घटनालाई व्यवस्थापन गर्न सहज हुने बताए ।
उनले भने, ‘प्रविधिको विकाससँगै महानगरपालिकाअन्तर्गत रहेको बारुणयन्त्र कार्यालयलाई समय र समाजअनुसार रुपान्तरण गर्न आवश्यक छ । यसमा काठमाण्डु महानगरपालिकाको ध्यान जाओस् ।’
कार्यक्रममा काठमाण्डु महानगरपालिकाका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण अर्यालले कम्पनीद्वारा गरिएको सो सामाजिक कार्यको प्रशंसा गरे ।
कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बारुणयन्त्रलाई तुफान मोटरसाइकल सहयोग गरेको बताए ।
एभेन्जर मोटरसाइकललाई परिष्कृत गरी आगलागी नियन्त्रण गर्न आवश्यक उपकरण राखेर बनाइएका ३५ लाख मूल्य बराबरका बजाज तुफान मोटरसाइकल कम्पनीका कार्यकारी निर्देशक गोल्छाले महानगरपालिकाका प्रमुख कार्यकारी निर्देशक अर्याललाई हस्तान्तरण गरेका थिए ।