
काठमाण्डु, २१ चैत –भाषाशास्त्री एवम् साहित्यकार कृष्णप्रसाद पराजुलीको त्रिवि शिक्षण अस्पताल महारागन्जमा गएराति निधन भएको छ ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित भएका पछिल्लो समयमा निमोनिया र श्वासप्रश्वासको समस्याका कारण १० दिनअघिदेखि अस्पताल भर्ना गरिएको उहाँका सुपुत्र शाश्वतले जानकारी दिए ।
पिता पशुपतिप्रसाद र आमा महादेवीको कोखबाट विसं १९९२ असार २४ गते काभ्रेपलाञ्चोकमा जन्मेका पराजुलीका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
त्रिभुवन विश्वविद्यालयमा करिब २९ वर्ष प्राध्यापन गरेका पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’लगायत करिब पाँच दर्जन पुस्तक प्रकाशित छन् । ‘सय थुँगा फूल’ भनी पराजुलीको पहिलो पटक ‘मुक्तकसङ्ग्रह’ प्रकाशन गरेर मुक्तक शब्द प्रचलनमा ल्याएको मानिन्छ ।
उनको उदितनारायण झाले गाएको ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडे म’ आधुनिक गीत प्रसिद्ध छ । ‘जगदम्बाश्री पुरस्कार’लगायत पराजुलीले थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।