
नेपालमा डा. बाबुराम भट्टराईजस्तै अमेरिकामा विद्वान् नेता रुजबेल्ट थिए ठीक सय वर्षअघि । रुजबेल्ट एक लेखक, इतिहासकार र आ विष्कारक थिए, त्यसैले जनताले अरू नेताभन्दा उनलाई बढी सम्मान गर्थे र बढी आशा गर्थे । रुजबेल्टले आफ्नो ऊर्जाशील उमेर रिपब्लिकन पार्टीको प्रचार, उत्थान र समृद्धिमा लगाए ।
तर, तीन दशक लामो सक्रिय राजनीतिपछि उनले एक दिन अमेरिकी जनतालाई सम्बोधन गर्दै भने, ‘रिपब्लिकन अथवा अर्को कुनै पुरानो पार्टीबाट देश अब उँभो लाग्दैन, देश बचाउन अब नयाँ शक्ति चाहिन्छ, नयाँ पार्टी चाहिन्छ ।’ उनले रिपब्लिकन पार्टी छाडेर प्रोग्रेसिभ पार्टी घोषणा गरे र नौलो राष्ट्रवादको नारामा गोलबन्द हुन जनतालाई आह्वान गरे ।
तर, दु:खको कुरा, देशमा नयाँ शक्ति चाहिन्छ भन्ने थाहा पाउनुअघि रुजबेल्ट दुई दशकदेखि अमेरिकी राजनीतिको केन्द्रमा थिए र दुईपटक राष्ट्रपति भइसकेका थिए । स्टिल माफिया र सुर्ती व्यापारीको पकडबाट देशलाई उम्काउन नयाँ शक्ति चाहिन्छ भन्नेमा धेरै अमेरिकी सहमत थिए । तर, नयाँ नाममा आउने पुरानै व्यक्तिबाट त्यस्तो शक्ति जन्मिन्छ भन्नेमा धेरैलाई शंका थियो ।
त्यसैले नयाँ पार्टी घोषणा गर्न आयोजित कार्यक्रममा एक समर्थकले रुजबेल्टलाई भने, ‘रिपब्लिकन पार्टी थोत्रो हो भन्ने थाहा पाउन तिमीजस्तो विद्वान्लाई त ३० वर्ष लाग्यो, अब प्रोग्रेसिभ पार्टी पनि थोत्रो हो भन्ने थाहा पाउन हामीजस्ता मूर्खलाई ३० पुस्ता लाग्न सक्छ, त्यस्तो खतरा मोल्न सकिन्नँ, कृपया रुजबेल्ट हामीलाई माफ गर ।’ वास्तवमा रुजबेल्टले अमेरिकाको नेतृत्व गर्न सन् १९१२ मा बनाएको नयाँ पार्टी पुरानो हुन नपाउँदै १९१६ मा विघटन भयो र इतिहासमा खोज्दा पनि नभेटिने भयो ।
हामी अमेरिकाभन्दा कम्तीमा सय वर्ष पछि छौँ, विद्वान् नेता रुजबेल्ट र विद्वान् नेता भट्टराईबीच पनि सय वर्षकै फरक देखियो । डा. भट्टराई अहिले भन्दै छन्, ‘थोत्रा पार्टीलाई टालटुल पारेर हुँदैन, अब नयाँ शक्ति र नयाँ पार्टी जन्मिन्छ ।’ यस्तो टुंगोमा पुगेका डा. भट्टराई कुनै राजनीतिक विश्लेषक मात्र होइनन्, दुई दशकदेखि राजनीतिको केन्द्रमा रहेका र देशको प्रधानमन्त्रीसमेत भइसकेका महारथी हुन् । तर, प्रतिस्पर्धी पार्टी मात्र होइन, आफ्नै पार्टी पनि थोत्रो हो भन्ने थाहा पाउन भट्टराईजस्ता विद्वान्लाई यति धेरै वर्ष लाग्नु देशकै दुर्भाग्य हो ।
डा. भट्टराईले साँच्चै अहिले मात्र ज्ञान पाएका हुन् भने हजारौँ जनताको रगत, लाखौँ जनताको विश्वास र करोडौँ जनताको सपना खेर गएको छ भनेर मान्नुपर्नेछ । कम्तीमा उनीजस्ता विद्वान्ले यो ज्ञान २० वर्षअघि पाउनुपथ्र्यो, जतिवेला उनी जेएनयूबाट विद्यावारिधि गरेर आएका आशालाग्दा युवा थिए । जीवनको ऊर्जाशील उमेर अरू शक्तिलाई समाप्त गरेर आफ्नो पार्टी बनाउन लागेका नेताले बुढेसकालमा फेरि अर्को पार्टी बनाउँछु भन्दा जनताले कति साथ देलान् ? प्रश्न गम्भीर छ । त्यसैले उनको संक्षिप्त अभिव्यक्तिमा पनि बहस व्यापक भइरहेको छ ।
डा. भट्टराई निश्चय पनि ठूलो दबाबमा छन् किनकि उनी अरू नेताभन्दा फरक हुन् भन्ने छाप आफँै बनाएका छन् । त्यो छाप बचाउने र अझ बलियो बनाउने हुटहुटी उनीभित्र छ । जनताले अहिले के खोजिरहेका छन् भनेर जान्न र त्यसलाई सम्बोधन गर्न उनी निकै उत्सुक देखिन्छन् । तर, खोजेजस्तो विचार बुझ्न उनी धमाधम इलाम, अर्घाखाँची अथवा अछाम धाइरहनुपर्ने हो, झापा, पाल्पा अथवा डोल्पाका जनतालाई भेटिरहनुपर्ने हो ।
उनी भूगोल घुमेर जनतालाई सम्बोधन गर्नभन्दा पनि फेसबुक र ट्विटरको ‘भर्चुअल पपुलारिटी’मा बढी चिन्तित छन् । उनी त्यहाँ आउने प्रशंसाले तरंगित हुन्छन् र आलोचनाले आहत हुन्छन् । कतिसम्म भने उनले एक दैनिकका प्रधानसम्पादकको लेखको प्रतिक्रियामा फेसबुकमा लेखे, ‘एउटा जागिरे सम्पादकले लेख्दैमा मलाई केही फरक पर्दैन ।’ लेखको विषयवस्तुसँग उनको असन्तुष्टि होला भनेर मान्न सकिन्छ, तर डा. भट्टराईले प्रधानसम्पादकलाई समेत ‘जागिरे’ भनेर अवहेलना गर्छन् भने प्रश्न उठ्छ– उनी सहसम्पादक, रिपोर्टर, साइकलब्वाय अथवा हकरलाई के सोच्दा हुन्, अरू मजदुरलाई के भन्दा हुन् ? बाबुराम व्यक्ति होइनन्, नेता हुन् ।
उनको विषयमा सकारात्मक अथवा नकारात्मक टिप्पणी गर्न कुनै कम्पनीको ‘मालिक’ नै चाहिने हो भने डा. भट्टराईका पछाडि मजदुर र किसान किन लागेका होलान् भनेर प्रश्न उठ्छ । उनले बुझ्नुपर्ने हो– ‘भर्चुअल पपुलारिटी’ जसरी बन्छ र त्यसैगरी भत्कन्छ । जसरी १० जना प्रधानमन्त्रीका दाबेदारको मतसर्वेक्षणमा बाबुराम एक्लैले ८६ प्रतिशत मत पाएको समाचार छापिएको थियो, उनी प्रधानमन्त्री भएको केही दिनमा त्यही पेजमा ‘गन्हाउँदै बाबुराम’ भनेर समाचार पनि आएको थियो ।
नेताको काम राजनीति गर्ने हो, दृष्टिकोण बनाउने हो । तर, डा. भट्टराई ‘मिडिया र सोसल मिडिया म्यानेजमेन्ट’मा लागेका छन् । त्यसैले उनीजस्ता नेताको महत्त्वपूर्ण समय खेर गइरहेको छ ।
नेतालाई अर्ती दिन मिडियामा हरेक साता लेख्ने र फेसबुक खोलेर गाली गर्ने अधिकांश टिप्पणीकारहरूको नाम मतदाता नामावलीमा समेत छैन । टिप्पणीकारले फेसबुक र ट्विटरमा दैनिक घन्टौँ लगाएर नेतालाई गाली गर्छन्, तर जीवनमा एकपटक फोटोसहित नामावलीमा दर्ता हुने अवसर आउँदा दुई घन्टा लाइनमा उभिने कष्ट गर्दैनन् । तिनको लफडामा कुनै पनि नेता नपरे हुन्थ्यो भन्नेलाई पनि बाबुरामले निराश पारेका छन् ।
बढी ‘कम्युनिकेटिभ’ हुने लोभमा उनले एक साताअघि फेसबुकमा यस्तो लेखे, ‘एक जिम्मेवार नेतामा हुनुपर्ने महत्त्वपूर्ण गुण के होला भनेर मलाई लामो समयदेखि जिज्ञासा लागिरहेको थियो, म आफैँले पढेको गोरखाको लुइँटेल स्कुलको वार्षिकोत्सवमा मेरा गुरुले जिज्ञासा मेटाइदिनुभयो । उहाँका अनुसार नेतामा हुनैपर्ने तीन गुण हुन्– १. ज्ञान, २. इमानदारिता, ३. हिम्मत ।
असल ज्ञान दिनुभएकोमा गुरुप्रति कृतज्ञ छु ।’ असल नेता हुन ज्ञान, इमान र हिम्मत हुनुपर्छ भनेर डा. भट्टराईले अहिले थाहा पाउँदै छन् ? यो कुरा सुनेर जस्तोसुकै नास्तिकले पनि टाउकोमा हात राखेर भगवान् गुहार्नेछ, अनि सोध्नेछ– नेतामा हिम्मत हुनुपर्छ भनेर अहिले सिक्दै गरेका भट्टराईले त्यत्रो जनयुद्ध कसको हिम्मतमा लडेका थिए ? आफ्नो अनुभूति साट्नु र सर्वसाधारणसँग जीवन्त संवाद गर्न खोज्नु डा. भट्टराईको सकारात्मक पहल होला, तर संवादका विषयवस्तुमा पकड राख्न नसक्नु उनको कमजोरी हो । यस्तो कमजोरीले उनलाई झन् कमजोर बनाइरहेको छ ।
डा. भट्टराईले कुनै दिन नयाँ पार्टी घोषणा गर्लान्, तर पार्टी चलाउने भनेको संगठन चलाउने हो । संगठन चलाउन सिद्धान्त धारिलो भएर पुग्दैन, स्वभाव पनि न्यानो चाहिन्छ । डा. भट्टराईको स्वभाव कस्तो छ भन्ने विषयमा उनकै छोरी मानुषीको अनुभव काफी छ । मानुषीले केही वर्षअघि एउटा पत्रिकालाई अन्तरंग अन्तर्वार्ता दिँदै भनेकी थिइन्, ‘मलाई मेरी आमाले तिम्रो बाले तिमीलाई असाध्यै माया गर्नुहुन्छ भन्नुहुन्छ । मलाई मेरी आमाको भनाइमा विश्वास छ, तर बाले साँच्चै त्यस्तै माया गर्नुहुन्छ भनेर महसुस भने गर्न पाएकी छैन ।’
संसारका अरू बाबुले जस्तै बाबुरामले पनि आफ्नी छोरीलाई माया गर्छन् भन्नेमा शतप्रतिशत विश्वास गर्न सकिन्छ । तर, त्यो माया उनले दर्शाउन जानेका छन् त ? त्यसमा भने मानुषीले आधिकारिक रूपमै शंका उठाएकी छन् । मानुषी त आफ्नै छोरी हुन्, महसुस नगरेका स्नेहमा पनि विश्वास गर्न सक्छिन् । तर, महसुस हुन नसक्ने स्नेहमा कार्यकर्ता कसरी संगठित होलान् र पार्टीलाई कसरी समृद्ध बनाउलान् ? नयाँ शक्ति आफैँ जुम्सो भयो भने त्यसले नयाँ नेपाल कसरी बनाउला ? यो प्रश्न हामीले गर्ने हो, बाबुरामले सोच्ने हो ।
नयाँ पत्रिकाबाट