एक वर्षमा संविधान साझा दायित्व : नेम्वाङ

काठमाण्डु टुडे २०७० चैत १५ गते १३:०३ मा प्रकाशित

subash nembangकाठमाण्डु, १५ चैत – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एक वर्षभित्र संविधान निर्माणका लागि सबै सभासद् प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

व्यवस्थापिका–संसद सचिवालयको आयोजनामा संविधानसभा भवन नयाँ बानेश्वरमा शसनबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले जनताको चाहना र जनतासँग गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

फेरि पनि विभिन्न बाहनामा संविधान निर्माण प्रक्रियालाई ओझेलमा पार्न नहुने र जनताको चाहनालाई आघात पु¥याउने काम गर्न नहुनेमा जोड दिँदै उनले विगतमा गरिएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताए ।

शुक्रबार बसेको संविधानसभा बैठकले अघिल्लो संविधानसभाले गरेका काम कारबाहीको स्वामित्व ग्रहण गरेको प्रसङ्ग जोड्दै सभाध्यक्ष नेम्वाङले सो कदम स्वागतयोग्य रहेको छ, बताए ।

अघिल्लो संविधानसभाले गरेका काम कारबाहीको स्वामित्व लिने काम समयमै सम्पन्न हुँदा जनतामा नयाँ आशाको सञ्चार भएको उल्लेख गर्दै नेम्वाङले उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गरे ।

एक वर्षभित्र संविधान निर्माण गर्नैपर्छ भन्ने कहीँ कतै पनि नलेखिएको भएपनि जनतासामु गरेको प्रतिबद्धता र जनताले एक पटकका लागि दिएको अवसर नै संविधानसभाका लागि महत्वपूर्ण अवसर रहेको नेम्वाङको भनाई छ ।

सो अवसरमा कानुन, न्याय, संसदीय मामिला तथा संविधानसभा मन्त्री नरहरि आचार्यले संविधान निर्माणको लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us