
काठमाण्डू, १ असार– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै स्कुटरमा सवार एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
घाइते भएका आसिकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उनले बताए ।
दुर्घटनामा स्कुटरमा सवार आसिकका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो ।