
आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान प्रदेशसभामा आइतबार मध्यरातमा प्रस्तुत गरे । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको असहमतिका कारण दिउँसो बजेट प्रस्तुत हुन सकेन ।
कर्णालीले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षको तुलनामा यो जम्मा पाँच प्रतिशतले मात्र बढी हो ।
कूल विनियोजनमध्ये चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार (२३.६४ प्रतिशत) , पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५) प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ६१ करोड ५० लाख (१.६६) प्रतिशत बजेट छुट्याइएको छ ।
स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ (१३.९५) प्रतिशत विनियोजन गरिएको छ ।
बजेटको श्रोतका रुपमा आन्तरिक आयबाट ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र संघीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने १० अर्ब २७ करोड ३० लाख अनुमान गरिएको छ ।
वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ ।