
काठमाण्डु, १५ चैत – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले आगामी जेठमा विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले जेठ १५–१७ गते काठमाण्डुमा संवैधानिक सम्मेलन गर्ने निर्णय गरेको हो ।
संविधानका भावी अन्तरवस्तुका बारेमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागिएको बारले जनाएको छ । सम्मेलनमा देशरका कानुन व्यवसायीहरु सहभागी हुनेछन् । सम्मेलनमार्फत प्राप्त सुझावलाई संविधानसभा र राजनीतिक दलसमक्ष प्रस्तुत गर्ने बताइएको छ ।
साथै बैठकले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित स्थायी न्यायाधीशको पदपूर्ति प्रक्रिया प्रारम्भ गर्न, न्यायाधीशलाई काजमा राख्ने प्रचलनको अन्त्य गर्न र जिल्ला अदालतमा कानुन व्यवसायीबाट न्यायाधीशमा नियुक्ति गरिने कानुनी व्यवस्था अघि बढाउन ध्यानाकर्षण गराएको छ ।
यस्तै न्याय प्रशासन र न्याय सम्पादनका क्षेत्रमा देखिएका विकृति विसङ्गति अन्त्य गरी संरचनागत र नीतिगत सुधारका लागि दवावमूलक भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ ।