यान्त्रिक पुलले ल्यायो नसोचेको परिवर्तन

काठमाण्डु टुडे २०७० चैत १२ गते १०:५५ मा प्रकाशित

Yantrik Pulबागलुङ, १२ चैत – दुई घण्टाको पैदल यात्रालाई पाँच मिनेटमा छोट्टाएको यान्त्रिक पुल स्थानीयवासीका लागि वरदान नै सावित भएको छ ।

जिल्लाको बलेवालगायत दक्षिण क्षेत्रका दर्जनबढी गाविसलाई प्रत्यक्ष लाभ दिइरहेको यान्त्रिक पुलकै कारण त्यहाँको दैनिक जीवनशैली नै फेरिएको छ । एक वर्षको अवधिमा यान्त्रिक पुलले सवा करोड रुपैयाँ कमाएको छ ।

पर्वत उद्योग वाणिज्य सङ्घको अगुवाइमा बनेको कुस्मा–बलेवा यान्त्रिक पुल पर्यटकका लागि गन्तव्य स्थल बन्न थालेको छ । बागलुङका दक्षिणवर्ती गाविसलाई सामाजिक, आर्थिक र सांस्कृतिक हिसाबले पर्वतसँग जोड्न यान्त्रिक पुल सहयोगी सिद्ध भएको यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

केबलकार मोडलको उक्त यान्त्रिक पुलबाट अहिले दैनिक ७०० देखि एक हजार जनासम्म यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । पुल सञ्चालनमा आएपछि बलेवा क्षेत्रका नारायणस्थान, पैयुँपाटा, अमलौचारलगायतका दर्जनबढी गाविसका बासिन्दालाई कुस्मा आवतजावत गर्न सहज बनेको छ ।

जिल्ला सदरमुकाम बागलुङ आउनभन्दा कुस्मा पुग्न यान्त्रिक पुलले धेरै छिटो बनाइदिएपछि दक्षिण क्षेत्रको व्यापार पनि कुस्मामा केन्द्रित हुन थालेको छ ।

पुलले जोडेको नारायणस्थान गाविस–८ बाट पर्वत सदरमुकाम पुग्न यान्त्रिक पुलबाट जम्मा पाँच मिनेट लाग्ने गर्दछ । ‘यान्त्रिक पुल सञ्चालनमा आएपछि त, हामीले वरदान पाए जस्तो भएको छ’ बागलुङ पैयँुपाटा–३ की मतिकला चापागाईंले भने, ‘पुल सञ्चालन भएपछि हामीलाई समयको पनि धेरै बचत भएको छ, धेरै हिँड्नुपर्ने बाध्यता पनि छैन ।’ खेती किसानी गर्ने चापागाईंले आफ्नो खेतबारीमा फलेको तरकारी सजिलै कुस्मा पु¥याएर बेच्न थालेका छन् ।

चापागाईं जस्ता त्यसक्षेत्रका धेरै किसानको दैनिकीमा नसोचेको परिवर्तन आएको छ । घरमा उत्पादन भएका कृषि र दुग्धजन्य उत्पादनलाई केही बेरमै बजार पु¥याउन सकिने भएपछि उनीहरुमा उत्साह थपिएको छ । ‘पहिलपहिले यही आलु घण्टौँसम्म बोकेर कुस्मासम्म पु¥याउनुपथ्र्यो, तर अहिले त पाँचै मिनेटमा त्यहाँ पुग्छ’ मतिकलाले भने । घरायसी र व्यापारिक सामान ढुवानी गरेको फरकफरक भाडादर कायम गरिएको छ ।

घरायसी सामान ढुवानी गरेको प्रतिकिलो रु एक र व्यापारिक सामान ढुवानी गरेको रु दुई लिने गरिएको पुलका कार्यालय सहायक नेत्रबहादुर खत्रीले बताए । खत्रीले यो पुल हुँदै बलेवा क्षेत्रबाट अधिकांश तरकारी, फलफूल र दूध कुस्मा जाने गरेको बताए । किसानलाई मात्रै होइन, शिक्षक, विद्यार्थी, व्यापारी, पेसाकर्मी र सरकारी कर्मचारीलाईसमेत यान्त्रिक पुलले प्रत्यक्ष फाइदा पु¥याइरहेको छ । बलेवा क्षेत्रबाट दैनिक कैयौँ बालबालिका पढ्नका लागि कुस्मा पुग्ने गरेका छन् ।

त्यस्तै घण्टाँै हिँडेर कार्यालय जानुपर्ने बाध्यता टरेपछि खुसी व्यक्त गर्दै पैयुँपाटा–९ का खडानन्द शर्माले भने, ‘यो पुलले त हामीलाई धेरै गुण लाएको छ, बलेवावासीका लागि यो त ठूलो सुविधा र उपलब्धि पनि हो ।’ पुल बनेपछि आकस्मिक बिरामीलाई अस्पताल पु¥याउन पनि धेरै सजिलो भएको छ ।

यान्त्रिक पुल लिमिटेडले आकस्मिक सेवा जुनसुकै बेला प्रदान गर्न सकिने जनाएको छ । त्यसका लागि दुई हजार भाडादरको व्यवस्था मिलाइएको छ । यस क्षेत्रमै पहिलोपटक यस्तो पुल बनेपछि हेर्न र सवार गर्न धेरै मानिस त्यहाँ पुगेका छन् । यान्त्रिक पुलबारे कौतुहलता जागेर पनि हजारौँ मानिस त्यहाँ पुगेको यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

‘पुल सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल पनि स्वभाविक रुपले बढेको छ, यसले यहाँको व्यापार प्रवद्र्धनमा पनि ठूलो टेवा पुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

पुलमा रहेका दुई वटा केबलकार मोडलका कारले यात्रु बोक्ने गरेका छन् । एउटा कारमा एकपटकमा आठ जना यात्रु सवार गर्नसक्ने व्यवस्था छ । कालीगण्डकी नदीमाथि रहेको पुलको यात्रा रोमाञ्चक हुने गरेको यात्रुहरु बताउने गर्छन् ।

यान्त्रिक पुलको एकतर्फी यात्राको भाडा१०० कायम गरिएको छ भने बागलुङको क्षेत्र नं २ का गाविसवासीका लागि २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यान्त्रिक पुलबाट मुख्यगरी बागलुङ क्षेत्र नं २ का बासिन्दा लाभान्वित भएका हुँदा पुल लिमिटेडले त्यस्तो छुट योजना ल्याएको हो ।

गत वर्ष फागुन २१ गतेदेखि सञ्चालनमा आएको यो पुलबाट एक वर्षको अवधिमा एक करोड २६ लाख आम्दानी भएको जनाइएको छ । टिकट बिक्री, भाडा तथा व्याजबाट उक्त आम्दानी भएको हो ।

पुल निर्माणका क्रममा ४५८ जना सेयर सदस्यको चार करोड ८४ लाख १७ हजार ५०० सेयर लगानी रहेको लिमिटेडले जनाएको छ । पुल लिमिटेडले प्रत्येक यात्रुका लागि पाँच लाख बराबरको बिमा पनि गरेको छ ।

वषौँदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थल नजिकै जोडिएको यान्त्रिक पुलले विमानस्थल सञ्चालनमा आएको अवस्थामा पनि ठूलो टेवा पु¥याउने विश्वास लिइएको छ । यान्त्रिक पुल बनेलगत्तै कुस्मा–बलेवा क्षेत्र जोड्ने अर्को देशकै सबैभन्दा लामो र अग्लो झोलुङ्गे पुल पनि निर्माणाधीन अवस्थामा छ ।

त्यस्तै चीन सरकारको सहयोगमा कुस्मा–बलेवा जोड्ने पुलको पनि सम्भाव्यता अध्ययन भइरहेको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us