जिफन्टको महाधिवेशन चैत १४ मा

काठमाण्डु टुडे २०७० चैत १२ गते १०:५० मा प्रकाशित

काठमाण्डु, १२ चैत – नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ‘रुपान्तारणः श्रमशक्तिको विकासबाट’ भन्ने मूल नाराका साथ यही चैत १४ देखि १७ गतेसम्म छैटौँ राष्ट्रिय महाधिवेशन काठमाण्डुमा हुने भएको छ ।

जिफन्टले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी छैटौँ महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको छ ।

जिफन्टका अध्यक्ष विष्णु रिमालले महासङ्घले २४ वर्ष पूरा गरेको अवसरमा भएका उपलब्धिको समीक्षा गर्नुका साथै श्रमशक्तिको विकासका लागि तीन प्रत्याभूतिः प्रतिफल (मर्यादित ज्याला), दिगोपन (रोजगारीको नियमितता) र सुरक्षा (सामाजिक सुरक्षा प्रणाली) मा जोड दिँदै आगामी चार वर्षका लागि कार्यक्रम पारित गर्ने बताए ।

महाधिवेशनमा प्रवासी नेपाली श्रमिकका प्रतिनिधि, एक तिहाइ महिलासहित स्वदेशका प्रतिनिधि ४३९ र पर्यवेक्षक १६६ गरी जम्मा ६०५ प्रतिनिधिको सहभागिता रहने अध्यक्ष रिमालले जानकारी दिए ।

त्यस्तै महाधिवेशनमा अमेरिकमा, अफ्रिका, चीन, जापानलगायतका देशबाट समेत सहभागी हुने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us