गोरखा, १२ चैत – जिल्ला प्रशासन कार्यालय गोरखाले कार्यालयमा आवाज आउने (अडियो) बडापत्र सुरु गरेको छ ।
कार्यालयमा आउने सेवाग्राहीको सजिलोका लागि प्रशासन कार्यालय गोरखाले पहिलो पटक अडियो रेर्कड गराएर बडापत्र सुनाउने अभियान चलाएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण कार्कीले भने, ‘सेवा लिन आउने सबै पढे, बुझेका जानेका हुँदैनन्, उनीहरुको सुविधाका लागि अडियो बडापत्र प्रभावकारी ठानेर सुरु गरेका हौँ ।’ यहाँबाट दिने सबै सुविधा अडियो बडापत्र सुनेर लिन सकिने उनको भनाइ छ ।
अन्य कार्यालय र प्रशासनको हाता बाहिर बडापत्रको आवाजले होहल्ला नहोस भन्ने धेयले प्रशासन हातामा सेवा लिन गएका नागरिकले मात्रै सुन्न सकिने गरी अडियो बडापत्रको व्यवस्थापन गरिएको छ ।
सम्बन्धित कार्यालयले दिने सेवा सुविधाका बारेमा सर्वसाधारण सेवाग्राही नागरिकले सजिलै थाहा पाउन भन्ने धेयले सरकारले सबै सरकारी कार्यालयमा नागरिक बडापत्र अनिवार्य गराएको छ ।
भौगोलिक दृष्टिकोणले दुर्गम गाविस रहेको र प्रशासनबाट सेवा लिन आउनेमध्ये अधिकाँश अनपढ हुने भएकाले उनीहरुको सुविधाका लागि अडियो बडापत्र सुरु गरिएको प्रजिअ कार्कीको भनाइ छ ।
अडियो बडापत्रमा नागरिकता बनाउँदा के के कागजात चाहिन्छ, कुन फाँटको कति नम्बर कोठमा बुझाउनुपर्छ, कति पैसा तिर्नुपर्छ, राहदानीका लागि कागजात कहाँ पेस गर्नुपर्छ भन्ने खालका जानकारी सुनाइन्छ ।
हतियार इजाजत, नाता प्रमाणित, प्रमाण पत्रमा त्रुटि भएका अभिलेख सच्याउन, प्रतिलिपि नागरिकता बनाउन, राहदानीका लागि अपनाउनुपर्ने प्रक्रियालगायत जिल्ला प्रशासन कार्यालयबाट हुने सबैखाले काम गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे बडापत्रमा रेर्कड गराइएको छ ।
करिब २३ मिनेटको अडियो बडापत्र हरेक बिहान कार्यालय समयसँगै बजाउन सुरु गर्ने र साँझ कार्यालय बन्द गर्नेबेला बन्द हुनेछ । प्रशासन कार्यालयमा कस्तो प्रभाव र सेवाग्राहीको सल्लाह आउँछ सोअनुसार सर्वसाधारणसँग दैनिक सेवामा जोडिने कार्यालयमा पनि सुरु गरिने प्रजिअ कार्कीले बताए ।