उदयपुर, १२ चैत– उदयपुरको पोखरी–३ मा तीन कट्ठा जग्गामा लगाइएको अवैध अफिमखेती प्रहरीले नष्ट गरेको छ ।
प्रहरीले स्थानीय टेकबहादुर राउतले लगाएको करिब आठ करोड रुपैयाँ बराबरको अवैध अफिम खेती नष्ट गरेको हो ।
प्रहरीले तीन वर्षदेखि अवैध रुपमा अफिमखेती गर्दै ७३ वर्षीय राउतसहित खेतीमा काम गर्दै आएका पर्सा बाहुरीपिड्डी–९ का २८ वर्षीय रामेश्वर महतो, सोही स्थान बस्ने ५० वर्षीय प्रल्हाद महतो, २३ वर्षीय देवेन्द्र महतो, ४५ वर्षीय भोट महतो र ३५ वर्षीय सोनालाल महतोलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ । राउतको घरबाट १ हजार ५ सय ग्राम अफिमको बिउ अफिमबाट बनाइएको एक हजार ग्राम हिरोइनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बरामद बिउ र हिरोइनको मूल्य अन्तर्राष्ट्रिय बजारमा एक करोड पर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय भट्टराईले बताए । जिल्लामा यति ठूलो परिमाणमा अफिम बरामद भएको यो पहिलोपटक हो ।
अफिमबाट मोर्फिन, ब्राउन सुगर तथा सेतो हिरोइनलगायत प्रतिरोधात्मक औषधिहरुसमेत निर्माण हुने गर्दछ ।