काठमाण्डु, १२ चैत – नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री गोविन्दराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लैजाने तयारी गरिएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीलाई चिकित्सकले थप उपचारको लागि दिल्ली लैजान सुझाब दिएपछि एअर एम्बुलेन्समार्फत दिल्लीको मेदान्त अस्पतालमा लैजान लागिएको हो ।
जोशीको रक्तचाप न्यून रहेको र कलेजोमा समस्या देखिएकाले थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले हिजो साँझ अस्पताल पुगेर जोशीलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
उनले भारतीय राजदुत रन्जित रेलाई टेलिफोन गरी एअर एम्बुलेन्सको व्यवस्थाका लागि आग्रह गरेका थिए ।
अस्पतालले नेपालमा उपचार पद्दती नभएको भन्दै जोशीलाई एयरएम्बुलेन्समार्फत दिल्ली लैजान सुझाब दिएको थियो । अस्पताल र नागरिक उड्डयन प्राधिकरणको पहलमा एम्बुलेन्सको व्यवस्था गरिसकिएको नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
जोशीको स्वास्थ्य स्थितिको जानकारी लिन प्रधानमन्त्री कोइराला, कांग्रेस नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु पनि हिजै अस्पताल पुगेका थिए ।