काठमाण्डु, १२ चैत – उच्चस्तरीय राजनीतिक समितिको कार्यक्षेत्रका विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । प्रमुख दलहरुबीच संविधान निर्माणमा अवरोध आए त्यसलाई फुकाउन तथा राजनीतिक संकट समाधानका लागि उच्चस्तरीय समिती गठन गर्ने सैद्दान्तिक सहमति यसअघि नै भइसकेको छ । यसअघि हिजो बसेको बैठकमा कार्यक्षेत्र तथा समिति संयोजकमा टुंगो नलागेकाले आज पुनः छलफल भएको हो ।
यस्तै बैठकमा एमाओवादी र मधेस केन्द्रित दलको मागअनुसार गत मंसिर ४ गते भएको निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन समिति बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
तीन दलबिच यसअघि हिजो बसेको बैठकले उच्च स्तरीय समिति बनाउने, १४ गतेभित्र संविधानसभा तथा व्यवस्थापिका संसदमा गठन हुने विषयगत र प्रक्रियागत समितिमा रहने सदस्यहरुको नाम छिट्टै पठाउने विषयमा सहमति भएको थियो ।