
हेटौँडा, ११ चैत – नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले वामपन्थी, लोकतान्त्रिक र राष्ट्रवादी शक्ति एकजुट भएर राज्यको पुनःसंरचनामा लाग्नुपर्ने बताएका छन् ।
पार्टीको प्रथम मकवानपुर जिल्ला अधिवेशनको हेटौंडामा उद्घाटन गर्दै महासचिव थापाले लोकतान्त्रिक र वामपन्थी शक्ति एकजुट भएर धेरै पटक नेपालमा राजनीतिक परिवर्तन भएको र अहिले पनि यी दुई शक्ति एक हुनुपर्ने धारणा राखे ।
उनले मुलुकको राजनीतिक निकासका लागि गोलमेच सम्मेलनको माध्यमबाट लोकतान्त्रिक संविधानको निर्माण गर्नुपर्नेमा अडानमा आफ्नो पार्टी अडिग रहेको दोहो¥याए ।
महासचिव थापाले वर्तमान संविधानसभाबाट जनताको पक्षमा संविधान आउन नसक्ने दावी गर्दै प्रमुख दलहरूले नेकपा–माओवादी र अन्य दलका एजेन्डालाई समेटेर अगाडि बढे मात्र मुलुकले सर्वमान्य संविधान पाउने बताए ।
दुई दिनसम्म चल्ने उक्त जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी कार्यक्रम तय गर्ने बताइएको छ ।