‘सहमति भए यही संविधानसभाको संविधान मान्य’

काठमाण्डु टुडे २०७० चैत १० गते ९:५९ मा प्रकाशित

Devकाठमाण्डु, १० चैत – नेकपा–माओवादीका सचिव देव गुरुङगले अन्तरबस्तुहरुमा सहमति गरेर अहिलेकै संविधानसभाबाट संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहने बताएका छन् ।

रिपोर्टर्स क्लबमा सोमबार आयोजित कार्यक्रममा बोल्दै गुरुङले संविधानका अन्तरबस्तुमा सहमति गरे संविधान कसरी जारी गर्ने भन्ने विषयमा खुल्ला हुने बताए ।

सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन गरेर सहमति हुने विषयमा सहमति गर्ने र सहमति नभएका विषयलाई कसरी टुङग्याएर संविधान जारी गर्ने भन्ने विषयमा स्पष्ट विधि बनाएर जान सकिने उनको भनाइ छ ।

यद्यपि उनले त्यसकोलागि अहिलेसम्म पनि संविधानसभामा रहेका दलहरुले पहल नथालेको गुनासो गरेका छन् ।

साथै फरक प्रशंगमा गुरुङले पार्टी सिद्धान्तमा विवाद भएको कारण फुटेकोले सिद्धान्त र विचार मिले मात्रै एक हुने बताए । पालुङटार बैठकको एजेण्डामा जान तयार भए एमाओवादीसँगको पार्टी एकतामा कुनै समस्या नहुने उनको भनार्य छ ।

‘हेटौंडा महाधिवेशनबाट एमाओवादीले जनवादी क्रान्तिको बाटो छाडेको छ,’ उनले भने, ‘एकताको लागि त्यसमा पुनरावलोकन हुनुपर्छ ।’

अहिले दुई बुँदामा कार्यगत एकता मात्रै भएको स्पष्ट पार्दै गुरुङले एमाओवादीबाट कमजोरीको आत्मसमिक्षा गर्दै मिल्नु पर्ने भन्ने सकारात्मक कुरा आएकोले पार्टी एकताको सम्भावना बढेर गएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश लेखकले संविधान बाहिर रहेका दलहरुसँग संविधानको अन्तरबस्तुमा सहमति गरेर नयाँ संविधान निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै नेकपा एमालेका नेता रविन्द्र अधिकारीले स्थानीय निकायको निर्वाचन आवश्यक भए पनि त्यसले संविधान निर्माण कार्यलाई असर पार्न नहुने भन्दै दलीय झगडाले संविधान निर्माणमा प्रतिकुल असर पर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us