सुत्केरी बिदाबाट फर्कँदा जागिर चट

काठमाण्डु टुडे २०७० चैत १० गते ८:२४ मा प्रकाशित

तनहुँ, १० चैत – तनहुँको एक कार्यालयमा कार्यरत कर्मचारीको सुत्केरी बिदामा बसेपछि जागिर नै चट भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको सहयोग र लायन्स क्लब अफ तनहुँको व्यवस्थापनमा दमौलीमा सञ्चालित दमौली आँखा उपचार केन्द्र्रमा कार्यालय सहयोगी पदमा कार्यरत अप्सरा भण्डारी पौडेललाई सुत्केरी बिदापछि पुनः काममा फर्कन अवरोध गरिएको हो ।

गत वैशाख १ गतेदेखि दमौली आँखा उपचार केन्द्रमा कार्यरत पौडेल गत पुस २६ गतेसम्म कार्यरत थिए । पुस २७ गते सुत्केरी भएकी पौडेलले आफू सुत्केरी भएको जानकारी कार्यालयमा गराउँदा सुत्केरी बिदा सकी दुई महिनापछि केन्द्रमा हाजिर हुन जाँदा काम गर्न नदिइएको पौडेलले बताईन् ।

‘सुत्केरी बिदा पाउने नियम नै भए पनि मलाई सुत्केरी बिदा सकिएर कार्यालयमा काममा फर्कन नदिइएकामा आश्चर्य लागेको छ’ उनले भनिन् ।

आँखा उपचार केन्द्र तनहुँका अध्यक्ष बाबुराम बगालले आफूहरु पौडेललाई हाजिर गराउन तयार रहे पनि कर्मचारी सेवासुविधाका बारेमा हिमालय आँखा अस्पताल पोखराले तय गर्ने हुँदा काममा लगाउने नलगाउने निर्णयका बारेमा आँखा अस्पतालको निर्णय पर्खिएको बताए ।

सो विषयमा हिमालय आँखा अस्पतालका नारायण बरालसँग पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us