
काठमाण्डु, १० चैत – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद(बिपी) कोइरालाको शतवार्षिकीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले उनको जीवनीमा आधारित चलचित्र तयार गर्ने भएको छ ।
नेपालमा प्रजातन्त्रको प्राप्तिमा लामो समय सङ्घर्ष गरेका कोइरालाको सम्मानमा प्रतिष्ठानले चलचित्र निर्माण गर्ने तयारी गरेको हो ।
प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलका अनुसार अनुमानित रु ७० लाखको लागतमा चलचित्र निर्माण गर्ने गरी त्यसको तयारी सुरु गरिसकिएको छ ।
विसं १९७१ भदौ २४ गते जन्मनुभएका बिपी पिता कृष्णप्रसाद कोइरालाले तत्कालीन अवस्थामा स्वतन्त्रका लागि गरेका सङ्घर्षदेखि बिपीको जन्म, राणाशासन र पञ्चायती शासनका विरुद्धमा गरेका सङ्घर्ष, जेल जीवनलगायत विषयलाई चलचित्रमा जीवन्त रुपमा चित्रण गर्ने लक्ष्य राखिएको छ ।
आगामी २०७१ साल भदौ २४ गते बिपी कोइरालाको शतवार्षिकी पूरा हुने भएकाले त्यस अगावै चलचित्र निर्माण सम्पन्न गर्ने प्रतिष्ठानको योजनाअनुरुप बिपीको जन्मस्थल दुम्जामा पुगेर विभिन्न ऐतिहासिक तथ्यको सङ्कलन तथा जीवनीका विभिन्न पक्षबारे खोजी सुरु गरिसकिएको छ ।
शतवार्षिकीकै अवसरमा प्रतिष्ठानका तर्फबाट बिपीको तस्बिर अङ्कित रु एक लाख चाँदीका सिक्का तयार गर्न लागिएको महासचिव पौडेलले बताए ।
बिपीको तस्बिर रहेको एक तोला चाँदी रहने प्रतिसिक्काको मूल्य एक हजार ५०० कायम गर्न लागिएको छ, सिक्का बिक्री वितरणबाट बच्ने रकम प्रष्ठिानको भवन निर्माणका लागि उपयोग गर्ने लक्ष्य राखिएको छ ।