
काठमाण्डु, १० चैत – नेपाल संगीत उद्योग संघका अध्यक्ष अर्जुन बोहराले सचिव लक्ष्मण हुमागाईंलाई तातो चियाको गिलासले हानेका छन् ।
शुक्रबार नेपाल संगीत उद्योग संघको बैठक सुरु मात्रै भएको थियो, बिभिन्न शीर्षकमा छलफल हुने तय हुँदै थियो । अनामनगरको कार्यालयमा बैठकमा सहभागीलाई चियाको व्यवस्था पनि भयो । प्राय सबै पदाधिकारी उपस्थित थिए ।
ओरालो लागेको संगीत बजार, सिआविटी, र पिआरबिटीको बारेमा छलफल गर्ने तयारी थियो । उद्योग संघका अध्यक्षको अर्जुन बोहराको अध्यक्षतामा बैठक सुरु भयो ।
बोल्ने पालो आयो सचिव लक्ष्मण हुमागाईंको ।
हुमागाईंले आफ्ना एजेण्डा अघि सारे । उनको प्रस्ताव सुन्न नभ्याउँदै अध्यक्ष अर्जुन बोहरा जंगिए ।
अनि भनाभन सुरु भयो । त्यसपछि रिसले तातेका अध्यक्ष बोहराले आफूले खाँदै गरेको तातो चिया भएकोे गिलासले सचिव हुमागाईंलाई हाने ।
बैठकमा सहभागी एक सदस्यका अनुसार गिलास टुक्रा टुक्रा भयो र चियाले कागतपत्र भिजे ।
सचिव हुमागाईंले बैठक नियमति बस्नुपर्ने, सबै सदस्य अनिवार्य उपस्थित हुनै पर्नेलगायतका प्रस्ताव राखेका थिए ।
आफ्नो प्यानलभन्दा बाहिरबाट हुमागाईंले गएको मंसीरमा सम्पन्न चुनावमा सचिव जितेका थिए ।
भनाभन र विवादले बैठक बस्ने सकेन । बिना निष्कर्ष टुगिंएको बैठकको साक्षी थिए, कस्तुप पन्त, सुन्दरमणी अधिकारीलगायतका पदाधिकारी ।
यो घटना बाहिर ल्याउन नदिन अध्यक्ष बोहराले चलखेल गरेको एक सदस्यले बताए ।