
विराटनगर, १० चैत– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकार गठन भएको धेरै समय नभएकाले यसको विषयमा टीकाटिप्पणी गर्न नहुने बताएका छन् ।
प्रेस युनियन मोरङद्वारा विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले सरकारलाई निर्बाधरुपमा काम गर्न दिनुपर्नेमा जोड दिए । नेता देउवाले संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने पनि बताए ।
‘सरकार गठन भएको धेरै समय भएको छैन’, देउवाले भने, ‘सरकारको कामबारे टिप्पणी गर्ने बेला भएको छैन ।’ आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस संसदीय दल बैठकमा सभासदहरुले सरकारको कार्यशैलीलाई लिएर चर्को विरोध गरेका थिए ।
देउवाले पूर्वप्रतिबद्धताअनुसार मुलुकलाई एक वर्षभित्र नयाँ संविधान दिनुपर्ने बताए । संविधानसभामा कसैको पनि संविधान जारी गर्न आवश्यक दुई तिहाई मत नरहेकाले काँग्रेसले सबैलाई विश्वासमा लिएर अघि बढ्ने बताए ।
अर्को एक फरक प्रसंगमा नेता देउवाले दलीय सहमतिमा तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा हुनुपर्ने बताए ।
स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा ग्रामीण क्षेत्रको विकास निर्माणकार्य प्रभावित भएकाले छिट्टै स्थानीय निकायको निर्वाचन हुनुपर्ने भनाइ उनको थियो ।