रात्रि बस त्रिशूलीमा खस्दा ५ को मृत्यु

काठमाण्डु टुडे २०७० चैत १० गते १:५२ मा प्रकाशित

चितवन, १० चैत– पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोकमा रात्रि बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
काठमाण्डुबाट धनकुटाका लागि छुटेको ना ४ ख ५८२९ नम्बरको बस दारेचोक–९ स्थित फिस्लिङमा राति साढे ८ बजेतिर दुर्घटना भएको हो । बस राजमार्गबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

बसको आधा भाग नदीमा डुबेको छ । दुर्घटनामा तीन पुरुष र २ महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन नसकेको मुग्लिन प्रहरीका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

दुर्घटनामा अरु १४ यात्रु घाइते भएका छन् । घाइतेका भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us