
बागलुङ, ८ चैत – बागलुङ जिल्लामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम कार्यान्वयन भएको छ । गत वर्ष नै यहाँको लोक्ता एक गाउँ एक उत्पादन कार्यक्रममा परेको घोषणा गरिए पनि अहिले आएर कार्यक्रम लागू भएको हो ।
नेपाल सरकार र उद्योग वाणिज्य महासङ्घद्वारा सञ्चालित ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत बागलुङको लोक्ता छनोट भएको थियो ।
नेपाली हातेकागज बनाउन प्रयोग गरिने लोक्ताको उत्पादन, प्रशोधन र व्यवस्थापनका लागि तत्काल दुई गाविसमा काम सुरु भएको बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
जिल्लाको तारा र लेखानी गाविसमा कार्यक्रम सुरु भएको हो । दुवै गाविसमा लोक्ता उत्पादनको काम अघि बढेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।
पहिलो चरणमा लोक्ता व्यवस्थापनसम्बन्धी नर्सरीको स्थापना क्षेत्र छनोट गरिसकिएको श्रेष्ठले जानकारी दिए । ‘नर्सरी स्थापनाका लागि ठाउँ छनोट गर्ने काम पूरा भइसकेको छ’ श्रेष्ठले भने, ‘यसका व्यवस्थापनसम्बन्धी काम पूरा भएपछि हातेकागज उद्योगसमेत स्थापना गर्ने लक्ष्य छ ।’
देश तथा विदेशबाट समेत नेपाली हातेकागजको माग आउन थालेपछि ‘एक गाउँ एक उत्पादन’मा लोक्तालाई छनोट गरिएको बताइन्छ ।
बागलुङलाई हातेकागजको जिल्लाका रूपमा पनि चिनिन्छ । सम्भाव्यता अध्ययन गरेर अन्यत्र गाविसमा पनि यो कार्यक्रम विस्तार गरिने सङ्घले जनाएको छ । नेपाल सरकार र उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा यो कार्यक्रम अघि बढाएका हुन् ।
कार्यक्रमको अवधि छ वर्षको रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि दुवै गाविसमा गरी छवटा समूह गठन गरेर काम अघि बढाइएको सङ्घका कार्यक्रम अधिकृत हरिश शर्माले बताए ।
‘लोक्ता व्यवस्थापनपछि हातेकागज उत्पादनका लागि उद्योग सञ्चालन गर्ने लक्ष्य हामीले लिएका छौँ’ शर्माले भन्नुभयो, “त्यसका लागि पनि तयारी भइरहेको छ ।’ यहाँका वनजङ्गलमा पाइने लोक्ताबाट नेपाली हाते कागज उत्पादन गर्ने गरिन्छ ।
लेखानी गाविसमा भने यसअघि नै हातेकागजको उत्पादन हुँदै आएको थियो । वार्षिक रूपमा लाखौँ रुपैयाँको हातेकागज बाहिर निर्यात हुने गरेको छ । जिल्लाबाट केकति नेपाली हातेकागज बाहिर जान्छ भन्नेबारे एकिन तथ्याङ्क भने कसैसँग छैन ।
‘स्थानीयस्तरमा रहेका स्रोतसाधनको परिचालनबाट रोजगारी सिर्जना गर्न र नागरिकको जीवनस्तर पनि उकास्न ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमले टेवा पु¥याउने हाम्रो विश्वास छ’ सङ्घका अध्यक्ष श्रेष्ठले भने, ‘प्रत्येक गाउँलाई एक उत्पादनसँग जोडेर, आर्थिक रूपमा समृद्ध बनाउने यो कार्यक्रमको लक्ष्य हो ।’
अहिले नेपालका ३० भन्दा बढी जिल्लामा यो कार्यक्रम सुरु भएको छ । लोक्ताको व्यवस्थापनदेखि यसबाट बन्ने नेपाली हातेकागजको बजारीकरणका लागि यो कार्यक्रमले सघाउ पु¥याउने लक्ष्य लिइएको छ ।
‘व्यावसायिक रूपमा वस्तुको उत्पादन र त्यसको बजारीकरण गर्दै आर्थिक समृद्धितर्फ सर्वसाधारणलाई डो¥याउने लक्ष्य यो कार्यक्रमले लिएको छ’ सङ्घका अध्यक्ष श्रेष्ठले भने ।
हातेकागजको जिल्लाका रूपमा चिनिएको बागलुङमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममा लोक्ता छनोट भएपछि जिल्लावासीमा पनि उत्साह थपिएको छ ।