बढ्दैछ ट्याटुप्रतिको आकर्षण

काठमाण्डु टुडे २०७० चैत ८ गते ९:०९ मा प्रकाशित

Tyatuकाठमाण्डु, ८ चैत – केही वर्षअघिसम्म पनि कसैले ट्याटु खोपाएको देखेमा त्यो त खत्तम भएछ, ट्यापे वा गुण्डो भएछ भन्नेजस्ता कुरा सुनिन्थ्यो । तर अहिले समय फेरिएको छ, केटा मात्र हैन अब त केटीहरुले पनि आफ्ना शरीरका विभिन्न अङ्गमा ट्याटु देखाएर हिंड्न थालेका छन् ।

आफ्नो शरीरमा जापानी ट्याटु खोपेका २० वर्षीय सुनिल महर्जनले भने ‘ट्याटु खोपाउनु आफ्नो एक प्रकारको लत नै भएको छ ।’ यसअघि पनि हात पाखुरामा ट्याटुका विभिन्न डिजाइन हानिसकेका सुनिलले आफूूले मात्र हैन परिवारमा आमा तथा बुबाले समेत ट्याटु हानेको बताए ।

जिन्स पाइन्ट र स्लिभलेस टिसर्टमा सजिएर आफ्नो ढाडमा भएको ट्याटु देखाउँदै थिइन् २९ वर्षीया पुजन लिम्बु । पहिले जीउको दायाँ भागको देखिने ठाउँमा उनले ‘ऊँ’ खोपाएकी थिइन्, पछि त्यो ‘ऊँ’ लाई छोप्ने गरेर उनले ठूलै मोर्डन आर्ट गरिन् ।

उनले आफ्नो ट्याटुलाई अझ स्मरणीय बनाउन आफ्नी आमाको जन्मदिन पारेर खोपाएकी थिइन् । उनले ट्याटु खोपाएको देखेर उनकी दिदीले समेत उस्तै ट्याटु बनाएकी छिन् । ट्याटुको बारेमा त्यति जानकारी नभएपनि ट्याटु खोपाउन साह्रै मनपर्ने उनले बताइन् ।

असनका २८ वर्षीय दिपेश खड्गीले पनि आफ्नो नाडीमा गणेशकै चित्र खोपाएका छन् । एउटा निजी संस्थामा बजार प्रबन्धकका रुपमा कार्यरत उनले काठमाण्डुमा चलेको ट्याटु मेलाको अवसरमा ट्याटु खोपाएका हुन् । सानो आकारको गणेश भगवानको चित्र कोर्न उनलाई करिब डेढ घण्टा लागेको थियो । ट्याटु खोप्नुलाई ‘प्यासन’ को रुपमा परिभाषित गरेका उनले पछि पनि यस्तै खालको मेला भएमा पुनः खोपाउने बताए ।

कोटेश्वरका ३५ वर्षीय राहुल नेपाल आफ्नो पहिले ट्याटु हान्दा बिग्रेका कारण पुनः ट्याटु हान्नुपरेको बताए । उनले भने– ‘पहिले सानो बेलामा साथीले सियोले मनलाग्दो तरिकाले खोपेर क्रस बनाइदिएको थियो आफू हिन्दू भएकाले पाखुरामा क्रस खोपेका कारण पूजापाठमा समस्या पर्न थालेपछि राम्रो ट्याटु खोपाउनेको खोजीमा थिएँ, काठमाडौँमा केही महिनाअघि चलेको ट्याटु मेलामा मैले मौका पाएँ र त्यसलाई सुधारेँ ।’ उनको पाखुराको ट्याटुलाई छोपेर अर्को बनाउन करिब रु १२ हजार लागेको उनले बताए ।

टोखाका २९ वर्षीय सरोज डंगोलले यसअघि पनि दुईपटक दुईवटै पाखुरामा ट्याटु बनाइसकेका छन् । भगवानप्रति आस्था राख्ने सरोजले एउटा पाखुरामा शिव पार्वतीको र अर्को पाखुरामा बुद्धको चित्र कुँदाएका छन् भने छातीको देब्रे भागमा गणेशको चित्र खोपाएका छन् ।

ट्याटु एकप्रकारको नसा भएको बताउँदै उनले भने–‘जति ट्याटु खोपायो उति रमाइलो अनुभव हुन्छ, अनि झन् ट्याटु खोपाउन मन लाग्छ ।’ ट्याटुकै लागि उनले झण्डै एक लाख खर्च गरिसकेका छन् । अझैपनि मौका मिलेमा अरु ट्याटु समेत खोपाउने सोँचमा छन् उनी ।

ट्याटु हाउसका कलाकार सञ्जय खड्गीका अनुसार अहिले युवा विशेष गरी ट्याटु खोपाउनका लागि आकर्षित हुने गरेका छन् । पाखुरामा वा आफ्ना शरीरको कुनै अङ्गमा केटी वा केटा साथीको नाम खोपाउनेको पनि कमी नभएको उनी बताउँछन् ।

केटीहरु विशेष गरी कपडाबाट देखिने भागमा गुलाब, पुतली बनाउँछन् भने केटाहरु विभिन्न खालका डिजाइनका साथै बुद्ध, कुनै चिह्न, कसैको पोट्रेट बनाउन रुचाउने उनले बताए । अहिले आएर भने युवाले बुद्ध जयन्तीमा बुुद्धको चित्र, मङ्गलबारका दिन गणेशको, प्रेम दिवसका दिन केटी वा केटा साथीको नाम खोपाउने गरेको उनी बताउँछन् ।

पहिले ट्याटुप्रति नकारात्मक धारणा थियो तर अहिले भने ट्याटु जस्ले पनि खोपाउन सक्छ भन्ने खालको सकारात्मक सन्देश जान थालेको उनको भनाइ छ ।

भनेजस्तो ट्याटु खोपाउने हो भने एउटैका लागि पनि हप्तौँ लाग्नसक्ने ज्याज ट्याटु हाउसका कलाकार जोन महर्जन बताउँछन् । ट्याटु खोप्न कम्तीमा दुई मिनेटदेखि डिजाइन हेरेर शरीरभरि खोपाउन बढीमा २०० घण्टा समेत लाग्ने गर्दछ ।

अन्य जस्तै ट्याटु खोपाउनेको पनि बैशाखदेखि दशैँसम्म राम्रो समय मानिन्छ । जाडो महिनामा धेरै समय कपडा खोलेर बस्न गाह्रो हुने र ट्याटु गर्मी महिनामा देखाउने भएकाले पनि गर्मी महिना ट्याटु खोपाउन आउनेको भीड लाग्दछ ।

ट्याटु हानेपछि विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ । ट्याटु हानेको १२ देखि २४ घण्टासम्म घाममा देखाउनु हुँदैन । करिब दुईहप्ता ट्याटुको घाउको पाप्रोसमेत उप्काउनु हुँदैन भने साबुनको प्रयोग गर्दा पनि सावधानी अपनाउनुपर्छ ।

बाबुराजा श्रेष्ठले ठमेलबाट ठमेल इङ्क नामको स्टुडियोबाट सुरु गरेको ट्याटु स्टुडियो अहिले काठमाडौंमा मात्रै ३५ वटा पुगिसकेको छ । युवा पुस्तामा ट्याटुको मोह बढ्दै गए पनि संस्थागतरुपमा ट्याटु अध्ययनको हुन सकेको छैन ।

आफ्ना गुरुबाट ट्याटु खोपाउने सीप सिकेका मोहन्स ट्याटु इनका आर्टिस्ट विजय गुरुङ्ले ट्याटु कलाकारले ट्याटुसम्बन्धी गहिरो अध्ययन गरेकै हुनुपर्ने बताउँदै भने–‘ट्याटु खोप्न जान्नुपनि एक प्रकारको ‘योग’ हो ।’

नेपालमा ट्याटु खोपाउनेको सङ्ख्या वृद्धि भइरहकै छ, तर यसका लागि आवश्यक सम्पूर्ण सामान भने विदेशबाट मगाउनुपर्ने बाध्यता छ । अमेरिका, इटलीलगायतका मुलुकबाट ट्याटुका लागि आवश्यक रङ्ग, सियोलगायतका सामग्री ल्याइन्छ ।

ट्याटु हानेमा छालाको क्यान्सर हुन्छ भन्ने मानिस पनि कम छैनन्, तर यो कुरा हल्ला र भ्रम मात्र भएको बताउँछन् आर्टिस्ट गुरुङ् । उनी भन्छन्–‘ट्याटु खोपाउँदैमा केही हुँदैन । बरु ट्याटु खोपाउनाले दुबीजस्ता छालाको समस्यालाई फैलनबाट रोक्दछ ।

नेपालमा ट्याटु खोपाउनका लागि उमेरको हदबन्दी नभएपनि मोहन्स ट्याटु इनमा भने १८ वर्ष मुनिकालाई ट्याटु खोपाउने नगरिएको उनले बताए ।

करिब पाँच हजार वर्षअघिदेखि नै ट्याटु खोपाउने चलन रहेको भनिएपनि ट्याटुको प्रयोग चार÷पाँच सय वर्ष अगाडि जर्मनी र बेलायतबाट सुरु भएको बताइन्छ । नेपालमा विशेष गरी तराई क्षेत्रका महिलाहरुले आफ्नो शरीरका विभिन्न अङ्गमा ट्याटु खोपाउने परम्परा रहेको पाइन्छ ।

स्टुडियो हेरेर ट्याटु खोपाउनका लागि रकम फरक–फरक भएपनि साधारणतया घण्टाको कम्तीमा पनि २०० डलर तिर्नुपर्ने हुन्छ । अर्काको देखासिखी गर्दै होस् वा आफ्नै रुचीमा ट्याटु खोपाउने युवापुस्ताको सङ्ख्या बढ्दो छ । आफैंले वा साथीको लहैलहैमा लागेर आफ्नै पाराले ट्याटु खोपाउँदा छालामा विभिन्न प्रकारका सङ्क्रमण पनि हुन सक्छन् । त्यसैले ट्याटु खोपाउने ठाउँमा गएरै एकपटक बुझेर मात्रै ट्याटु खोपाउनु पर्छ ।

एकपटक खोपाएको ट्याटुको असर जीवनभर रहने भएकाले सोच विचार गरेर मात्र ट्याटु खोपाउँदा राम्रो हुने छाला तथा यौन रोग विशेषज्ञ डा दीपककुमार अर्याल बताउँछन् । उनका अनुसार धेरै युवामा ट्याटु हानेपछि छालामा क्यान्सर हुन्छ भन्ने भ्रम रहेको छ तर ट्याटुकै कारण क्यान्सर भएको भन्ने प्रमाणित भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us