सरकारसँगका पीरमर्का अब कांग्रेस कार्यालयमा

काठमाण्डु टुडे २०७० चैत ८ गते ७:२१ मा प्रकाशित

कार्यकर्ता तथा सर्वसाधारणले आफ्ना पीरमर्का अब कांग्रेस केन्द्रीय कार्यालयमै राख्न पाउने भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटार, सिंहदरबारमा गएर मात्र मन्त्रीहरूलाई भेट्दा झन्झटिलो हुने भन्दै कांग्रेसले केन्द्रीय कार्यालयमै मन्त्रीलाई भेटिने व्यवस्था मिलाएको हो ।
‘सिंहदरबारमा सबै नेता, कार्यकर्ता र सर्वसाधारणको पहुँच सहज नहुने भएकाले केन्द्रीय कार्यालयको अग्रसरतामा प्रधानमन्त्रीसहित मन्त्रीको भेटघाट तालिका बनाएका हौँ,’ कांग्रेस कार्यालयका सचिव प्रेम केसीले नयाँ पत्रिकासँग भने, ‘छिटो–छरितो, विकास निर्माण र संगठनका काम प्रभावकारी हुन्छ भन्ने आशा गरेका छौँ ।’
प्रधानमन्त्रीसहित वर्तमान सरकारमा कांग्रेसका नौ मन्त्री र एक राज्यमन्त्री छन् । उनीहरू सबैको पार्टी कार्यालयमा उपस्थित हुने तालिका कांग्रेसले सार्वजनिक गरेको छ । तर, प्रधानमन्त्री सुशील कोइराला अनुकूल समय र पूर्वसूचना गरेर मात्र केन्द्रीय कार्यालय पुग्ने भएका छन् । सबै मन्त्री दुई घन्टा कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।
सरकारमा राज्यमन्त्री टेकबहादुर गुरुङबाहेक अरू सबै मन्त्री, पदाधिकारी र केन्द्रीय सदस्य छन् । भेटघाटका लागि प्रधानमन्त्री तथा सभापति कोइराला, महामन्त्री सिंह, शिक्षामन्त्री तथा कोषाध्यक्षा चित्रलेखा यादवले आफ्नै कार्यकक्ष प्रयोग गर्नेछन् । ‘प्रधानमन्त्रीसहितका पदाधिकारीहरूले आफ्नै कार्यकक्ष प्रयोग गर्नुहुन्छ,’ सचिव केसीले भने, ‘अरू मन्त्रीका लागि दुईवटा कोठा छुट्याएका छौँ । नेता, कार्यकर्ता र सर्वसाधारणसँग उहाँहरूले त्यहीँ भेट गर्नुहुन्छ ।’
सिंहदरबार, बालुवाटार र मन्त्रीनिवासमा जान पास, नागरिकतालगायत चाहिने र झन्झट हुने भएकाले पनि प्रधानमन्त्रीसँग सल्लाह गरेरै भेटघाटको व्यवस्था मिलाइएको सचिव केसीले बताए । ‘जनताको कामलाई प्रभावकारी बनाउने विषयमा राम्रो प्रस्ताव राख्नुभयो भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ उनले भने, ‘अब निरन्तर मन्त्रीहरूसँग विकास निर्माण र पीरमर्काको कुरा राख्न पाइने भएको छ ।’ केन्द्रीय नेता र मन्त्रीसँग सीधै सर्वसाधारणको पहुँच हुने भएकाले उनीहरूका काम समेत छिटो–छरितो हुने केसीले बताए ।
कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार सिँचाइमन्त्री एनपी सावद शुक्रबार दुई घन्टा कार्यालयमा बसेका थिए । यसअघि पनि कांग्रेसका नेताहरूले नियमित कार्यालय जाने घोषणा गर्ने गरेका थिए । तर, व्यवहारमा उतारेका थिएनन् । सभापति कोइरालादेखि नेता शेरबहादुर देउवासहितले नियमित कार्यालय जाने घोषणा गरेका थिए, तर जाने गरेका थिएनन् ।

कोइरालाको स्मृतिमा वृक्षरोपण

कांग्रेसले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पाँचौँ स्मृति दिवसका अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले समीको वृक्ष रोपेर उद्घाटन गरेका थिए । कार्यालय परिसरमा विभिन्न प्रजातिका फूलसमेत रोपिएको छ ।
वृक्षरोपणमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य एवं कार्यकर्ता सहभागी थिए । वृक्षरोपण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयको संयोजनमा प्रजातान्त्रिक वन प्राविधिक संघले प्राविधिक सहयोग गरेको थियो । कोइरालाको स्मरणमा शुक्रबार देशभर विभिन्न कार्यक्रमसमेत गरिएको छ । नयाँ पत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us