
काठमाण्डु, ४ चैत – आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।
घरेलु मैदान चट्गाउँमा १ सय २७ रनको चुनौती पछ्याएको बंगलादेशले १५ ओभर ३ बलमा २ विकेट क्षतिमा लक्ष्य भेट्टायो ।
उसका लागि अमिनुल हकले ४२, सकिब अल हसनले ३७, तमिम इक्वालले ३०, तथा सबिर रहमानले २१ रन बनाए । नेपालका लागि वसन्त रेग्मीले १ विकेट लिए । अर्काे १ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो । बिस्फोटब ब्याटिङ गरेका सकिवले ४ छक्का र १ चौका प्रहार गरे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १२६ रनमात्र जोड्न सक्यो । नेपालको पारीमा कप्तान पारस खड्काले सर्बाधिक ४१, सरद भेषावकरले ४०, ज्ञानेन्द्र मल्लले १३, सागर पुनले १२ तथा सुवास खकुरेलले ८ रनको योगदान गरे ।
पारस र सरदले समान ५ तथा ज्ञानेन्द्र र सागरले २–२ चौका प्रहार गरे । अन्तिम ४ बलको सामना गरेका बिनोद भण्डारीले १ रन पनि जोड्न सकेनन् ।
नेपालले तेस्रो खेलमा विहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।