
आइसिसी टी –२० विश्वकप क्रिकेट सुरु हुनुअघि बंगलादेशमा समाचार संकलन गर्ने नेपाली खेलपत्रकारसँग बंगलादेशका खेलाडीले नेपालको क्रिकेटबारे खासै नसुनेको प्रतिक्रिया दिएका थिए ।
एकै समूहमा परेपनि बंगलादेशी खेलाडीका भनाइ हास्यास्पद थियो ।
तर, हङकङलाई हराएपछि बंगलादेशी खेलाडीका भनाइ फेरिएको छ । सोमबार खेलको पूवसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशका कप्तान मुसफिकर रहिम नेपाललाई कडा प्रतिद्वन्द्वीका रुपमा लिएको भन्न बाध्य भए ।
नेपालको खेल रणनीति र खेलाडीको शैली बुझ्न आफूहरुले भिडियो फुटेज हेरेको उनले बताए । ‘हामीले नेपालको अभ्यास खेलका फुटेज हेरेका छौं, हामीले सोचे भन्दा नेपाल राम्रो टोली रहेछ ।’ उनले भने ।
सन् २०००मा टेस्ट मान्यता प्राप्त गरेयता बंगलादेशले चार मौ जित दर्ता गरेको छ । पहिलो खेलमा उत्कृष्ट जित निकालेपछि बंगलादेशमा रहेका अन्तर्राष्ट्रिय संचारमाध्यमले नेपाली टोलीको गतिविधी पछ्याइरहेका छन् ।
सन् १९९६मा एसिसी ट्रफीको समूह ‘ए’मा नेपाल र बंगलादेशबीच पहिलो र अन्तिमपटक भेट भएको थियो ।
त्यसपछि एकैचोटी विश्वकपमा बंगलादेश र नेपाल आमनेसामने हुन लागेका हुन् ।