खुलादिसामुक्त क्षेत्र : मर्निङवाकमा कुकुरलाई शौच !

काठमाण्डु टुडे २०७० चैत १ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, चैत – संस्कारसित चेतना भित्रिएन । के गर्न हुन्छ, के गर्नु हुन्न भन्ने सामान्य चेतनालाई बुझेर पनि बुझ पचाउने हेपाहा र मिचाहा प्रवृत्तिले जटिल सामाजिक समस्या आउँदो रहेछ ।

हो ! आजभोलि केही उच्च वर्गका मानिसले देखाएका त्यही हेपाहा र मिचाहा प्रवृत्तिले काठमाण्डु स्थित महाङ्काल गाउँ विकास समितिले नयाँ सामाजिक समस्या भोग्नु परिरहेको छ, सडकमा कुकुरलाई शौच गराउने ।

प्रभातकालीन हिडडुल (मर्निङ् वाक) मा निस्कने सम्भ्रान्तवर्गले आफूसँगै कुकुर लिएर निस्कन्छन् । कुकुरलाई सडकमा जहाँ पायो त्यहीँ शौच गराइरहेका छन् । लौन ! एलडियो साब (स्थानीय विकास अधिकारी) कुकुर धनीहरुलाई भनिदिनुप¥यो ? यो कार्य भोलिदेखि नै बन्द गर्नुपर्यो भनेर ।

जिल्ला विकास समितिले शनिबार महाङ्कालमा आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रमको पहिलो प्रश्नका रुपमा स्थानीय बासिन्दा सरोज अधिकारीको सो प्रश्न सुनेर सहभागी आफैँ एक अर्कामा मुखामुख गरे । सुट र टाइमा सजिएकाहरु कार्यक्रमको अघिल्लो पंक्तिमा थिए ।

स्थानीय विकास अधिकारी प्रेमराज जोशी प्रश्न सुनेर एकछिन त गम्भीर बने । उनले जवाफ दिए, ‘संस्कारसित चेतना आएन । तपाइँहरुले नै सार्वजानिक स्थलमा कुकुरलाई शौच गराउने प्रवृत्ति कसरी नियन्त्रण गर्ने हो लिखित रुपमा उचित सल्लाह गाविसलाई दिनुहोस्, यसलाई म कार्यान्वयन गर्न निर्देशन दिन्छु ।’

प्रश्नकर्ताले जवाफ चित्त नबुझेर होला पुनः प्रश्न गरे,  टेर्लान् त सर ? स्थानीय विकास अधिकारी जोशीले तत्काल भने, ‘काठमाण्डु प्रहरीका हाकिम रमेश खरेललाई भन्छु ।’

उसो त काठमाण्डु जिल्लाको पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा भएको गाविस महाङ्काल नै हो ।

एक घर एक शौचालय तथा सार्वजानिक स्थलमा शौचालयको सबै प्रबन्ध भएपछि मात्र खुला दिसामुक्त क्षेत्र घोषणा गरिने नीति नियम रहेको छ । साथै पूर्ण ढलको प्रबन्ध, सरसफाइ, खोला नाला, नदी तलाउ पूर्ण दिसामुक्त हुनु आवश्यक छ ।

तर गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि कुकुर र छाडा छोडिएका चौपायाले शौच गर्न नछाडेका स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

स्थानीय बासिन्दा रामबहादुर कार्कीले भने, ‘मानिसमा के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने सामान्य चेतना नआएको अवस्था हो यो । कुकुर पाल्न सक्ने हैसियत राख्नेले किन सरसफाइ गर्न नजानेका ।’

अर्काेतर्फ आफ्ना गाविसका कति घरमा कुकुर पालिएका छन्, यसको जानकारी गाविसँग छैन । कुन वडाका कुन घरधनीले प्रभातकालीन समयमा कुकुर लिएर निस्कन्छ भन्ने जानकारी पनि छैन । साथै निस्केकाहरुका पछिपछि लाग्न सक्ने अवस्था पनि गाविससँग छैन । गाविसले सार्वजानिक स्थानमा खुला दिसामुक्त क्षेत्र घोषणाका ठूलाठूला होडिङ बोर्ड झुन्ड्याएको छ ।

स्थानीय विकास अधिकारी जोशीले खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका गाविसमा सार्वजानिक स्थानमा कुकुरलगायत अन्य छाडा पशुका शौच गराउने कार्य रोक्न जनचेतनाका कार्यक्रम ल्याउने र यसपछि कडा दन्ड र सजाय गर्न लागेको जानकारी दिए ।

सार्वजानिक काम र सेवालाई जवाफदेहिता र पारदर्शिता गर्न जिविसले सार्वजानिक सुनुवाई कार्यक्रम सञ्चालन गरिराखेको छ ।

कार्यक्रममा सहभागीहरुले जिविसका नयाँ कार्यक्रम तथा बजेटका बारेमा प्रश्न गरेका थिए । बेरोजगार युवाका लागि जिविसको के कार्यक्रम छ ? भन्ने स्थानीय रणबहादुर बम जिज्ञासमा स्थानीय विकास अधिकारी जोशीले युवाका क्षमता विकासका कार्यक्रम रहेको जानकारी दिए ।

सार्वजानिक जग्गाका संरक्षण गर्ने नीति गाविसको रहेको, सामाजिक सुरक्षाका भत्ता वितरणमा पारदर्शिता गरिएको, भूसंरक्षण, सडक निर्माण, भौतिक पूर्वाधार, खानेपानी, सिँचाइमा बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

स्थानीय विकास अधिकारी जोशीले जिल्लास्तरीय सडक योजनाअन्तर्गत चालु आवमा १४ सडक योजना कार्यान्वयनमा रहेका, १६ वटा महिला, १९ वटा बालबालिका लक्षित, ३५ विविध भौतिक पूर्वाधार, ११ ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन भइराखेको जानकारी दिए ।

सार्वजानिक सुनुवाई कार्यक्रममा जिल्ला भूसंरक्षण अधिकृत सुदर्शन रिजाल, जिल्ला पशुसेवा अधिकृत रुमिना महर्जन, जिल्ला वन अधिकृत दिलबहादुर बुर्जामगर, जलउत्पन्न नियन्त्रण अधिकृत दिनेश रेग्मीले आ–आफ्ना कार्यलयद्वारा सम्पादित कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us