भारतीय दैनिकमा नेपाली क्रिकेट टिमको प्रशंसा (समाचारको नेपाली अनुवादसहित)

काठमाण्डु टुडे २०७० चैत १ गते ९:२० मा प्रकाशित

Nepal_20140315103325काठमाण्डु, १ चैत – केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली टिमका कप्तान पारस खड्काले भनेका थिए, ‘हामी भारत जाँदा नेपालमा पनि क्रिकेट खेलिन्छ र ? भनेर सोध्ने गर्थे, अब हामीले खेलेको खेल उनीहरुकै देशको टिभीमा हेर्नेछन् ।’

उनले यसो भनिरहँदा हलमा ताली र हाँसोको फोहोरा छुटेको थियो । पारसको यो भनाइमा एक प्रकारको इख लुकेको छ ।

त्यसैले पनि नेपाली टिम विश्वलाई आफ्नो खेल देखाउन बंगलादेश पुगेको छ । आइतबारबाट सुरु हुने ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले चीरपरिचित प्रतिद्वन्द्धी हङकङको सामना गर्दैछ ।

विश्वकपको पूर्वसन्ध्यामा भारतीय दैनिक पत्रिका जागरणले नेपाली टिमको प्रशंसा गरेको छ । उसले शनिबारको अंकमा नेपाली टिमबारे यस्तो समाचार प्रकाशन गरेको छ ।

समाचारको नेपाली अनुवाद

नेपाली क्रिकेट टिमको कहानी : कडा मिहेनत, आँसु र भाग्य

रुपेश रंजन सिंह, नयाँ दिल्ली

बंगलादेशमा सुरु हुन लागेको टी–२० विश्वकपमा नेपाली टिमले पनि भाग लिँदैछ । यसले भारतीय उपमहाद्वीपमा बढ्दो क्रिकेट क्रेजको संकेत गर्छ ।

आइसीसीको ठूलो प्रतियोगितामा भारतीय उपमहाद्वीपबाट भारत, पाकिस्तान तथा श्रीलंकाको टिमले सहभागिता जनाउँदै आएका थिए, तर अहिले आएर बंगलादेश, अफागानिस्तान र नेपालसहित यो संख्या ६ पुगेको छ । यो आइसीसीको उच्च प्रतियोगितामा कुनै पनि उपमहाद्वीपबाट प्रतिनिधित्व गर्ने अहिलेसम्मकै ठूलो संख्या हो ।

यस मध्ये क्रिकेटका समर्थकहरु कुनै पनि टिमको बारेमा सबैभन्दा कम जानकारी राख्छन्, भने त्यो नेपाली टिम हो । तर, यसको अर्थ यो होइन कि नेपाली क्रिकेटको कदर नै छैन ।

नेपाली टिमका कप्तान पारस खड्कालाई हेर्ने हो भने, नेपालमा उनको हैसियत कुनै स्टारकोभन्दा कम छैन । अझ प्रशंसकहरु यति छन् जुन कुनै पनि टेष्ट खेल्ने राष्ट्रहरु भन्दा कम छैनन् । खड्काका अनुसार नेपालमा फुटबल र क्रिकेटका धेरै समर्थक छन् ।

विश्वस्तरमा नेपाली टिम पहिलो पटक पर्दामा देखिएको छ । तर उसले करिब १०–१२ वर्षदेखि क्रिकेट खेलिरहेको छ ।

यो नवोदित टिमको खेलाडीहरुको कडा मिहेनत, समर्पण तथा लगनले नै नेपाल सन २००६ को अण्डर १९ वल्र्डकपमा प्लेट च्याम्पियन बनेको थियो ।

टी–२० विश्वकप क्यालिफायरमा नेपालको पहिलो भिडन्त जितको प्रवल दावेदार केन्यासँग भएको थियो । जसमा जितका लागि १ सय ८३ रनको लक्ष्य मिल्यो ।

अन्तिम ओभरमा नेपाललाई १७ रन चाहिएको थियो । क्रिजमा थिए कप्तान पारस खड्का तथा सरद भेसावकर । सरदले पहिलो बलमा छक्का प्रहार गरे ।

टिमलाई जिततर्फ अग्रसर हुँदै गरेको देखेका २० वर्षिय खेलाडी सागर पुनले पवेलियनमा बसेर आँखाभरी आँसु बनाए । सरदले अन्तिम ओभरमा २ छक्का प्रहार गरेर टिमलाई चामत्कारीक जित जिलाए । जितसँगै पुनको भावनाको बाँध टुट्न पुग्यो र उनी रुन लागे।

त्यो जितले टिमका हरेक खेलाडीलाई प्रेरित ग¥यो । भाग्यले पनि उनीहरुको साथ दियो । स्कटल्याण्डसँग दशमलव पछिको अंकको गणनामा अघि रहँदै नेट रनरेटका आधारमा नेपालले नक आउट चरणमा स्थान बनायो  ।

हङकङसँग खेलिएको क्वार्टर फाइनलमा पनि यस्तै स्थिति देखाप¥यो । अन्तिम ओभरमा जितका लागि नेपाललाई १३ रन चाहिएको थियो । एक पटक फेरि सरद भेसावकर क्रिजमा थिए ।

उनले छक्का र चौका प्रहार गरेर स्कोर बराबरी गरिदिए । अन्तिम बलमा जितका लागि १ रन चाहिएको थियो । सबै फिल्डर पहिलो घेरा भित्र थिए, तर सरदले चौका प्रहार गर्दै एसोसिएट देशलाई उसको सबैभन्दा यादगार जित दिलाए र टीम विश्वकपका लागि छनोट भयो ।

हिमालयको यो सानो देशका खेलाडीहरुको चाहना छ कि, ‘विश्वकपमा आफ्नो छाप छोड्न सकौं ।’ छोटो यात्रामा जसरी यो टिमले आफ्नो जुझारु पन देखाएको छ, यसलाई हेर्दा उनीहरुको इच्छालाई नकार्न कसैले पनि सक्दैन ।

Nepali team

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us