
काठमाण्डु, २९ फागुन – नेपाल पुलिस क्लवलाई फराकिलो अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सुजल श्रेष्ठको ह्याट्रिकको मद्दतमा पुलिसलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै मनाङले आयोजक साहारासँगको फाइनल भिडन्त पक्का गरेको हो । सुजलले १०, १७ र ७५ औं मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरे ।
यस्तै अनिल गुरुङ र योना इलियासले १–१ गोल थप्दा पुलिस निरिह बन्न पुग्यो ।
अब उपाधिका लागि आयोजक सहारा र मनाङ भिड्ने छन् । आयोजक सहाराले मच्छिन्द्र क्लवलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।