समस्याग्रस्त सडक र अलपत्र राजनीति अरु थप नहोस्

काठमाण्डु टुडे २०७० फागुन २८ गते ६:२६ मा प्रकाशित

singh durbar
भनिन्छ, मान्छेको अवस्था विचार गर्न उसको घरको ट्वाइलेट हेरे पुग्छ, देशको अवस्था विचार गर्न सडकको अवस्था हेरे हुन्छ । राजधानी काठमाण्डुका सडकको अवस्था नियाल्ने हो भने हाम्रो देशको लथालिंग र भताभुंग अवस्थाको चित्रण हुन्छ । गणतन्त्र नेपालका चौथा तथा एकीकृत माओवादीका दोस्रो प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाण्डुका सडक विस्तारको जुन अभियान चलाए, त्यसले सिंगै राजधानीको मुहार फेर्ने त पक्का छ । तर सुरुवातको लामो अवधिसम्म सडक विस्तारको काम केवल सरकारी काम कहिले जाला घामझैं भइरहँदा काठमाण्डु बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य मात्रै भइरहेको छ ।

मन्त्रीपरिषद्् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले सडक विस्तार अभियानको छड्के जाँच गरेकादेखि अब पूरा हुन लागेका भनी देखाएका अनुगमन केवल आश्वासन शिवाय केही भइरहेका छैनन् । एकजना असल प्रधानमन्त्रीका रुपमा प्रस्तुत हुन निकै अपजशीलो र साहसी काम गरेकै हुन तत्कालिन प्रम डा.बाबुरामले । तर जसै उनको सत्ताविघटन भो, तब सडक विस्तारको काम असरल्ल भो । दिनहुँको शास्ती र हैरानी आम जनतालाई बढेको बढ्यै छ । निश्चय नै भत्काउनु जस्तो सहज छैन निर्माणको काम । तर किन यति ढिलो त सडक विस्तारको काम ? यसको सिधा र सरल उत्तर हो देशमा स्थिर र जनमुखी सरकारको अभाव ।
स्थानीय निकायमा निर्वाचित नेतृत्वको अभावको डेढ दशक लामो अवधि, कर्मचारी र ठेकेदार तथा प्राविधिक बीचको कालेकाले मिलेर खाउँ भाले गर्ने अपरदर्शी साँठगाँठ जस्ता जनतामारा प्रवृत्ति नै सडक विस्तार अभियान यता न उता हुनुका मुख्य कारक हुन् । अधिकांश त पुरा भएकै छैनन्, पूरा भएका भनिएका सडक पनि बनिनसक्दै उप्केर खाल्डाखुल्डी परेका प्रशस्त उदाहरण जनजनका सामु दिनको घाम जत्तिकै छर्लङ्ग छन् । सबका लागि सधैंका लागि अत्यावश्यक सडक निर्माण जस्तो कार्यमा लापरवाही, अनियमितता गर्ने प्रवृत्ति सभ्य समाज त्यसमा पनि राजधानीका लागि लाजमर्दाे विषय हो । ठग्नु, भ्रष्टाचार गर्नु त्यो पनि सडक निर्माणमा भनेको अपराध, महाअपराध नै हो ।
प्रधानमन्त्री सुशील कोइरालाले सत्ता सम्हालेको तेस्रो साता वीवीसी नेपाली सेवासँगको अन्तर्वार्तामा सडक विस्तार कार्यलाई टिकाउपूर्ण बनाउन सम्बन्धित निर्माण कम्पनी लगायतमाथि दह्रो निगरानी राखिने वाचा गरे । राजधानीको सडक विस्तार अभियानलाई चाँडो पूरा गराउन सरकार कटिबद्ध भएको दोहो¥याउँदै उनले सरकारले कमसल निर्माण गर्ने ठेकेदार समेतलाई कार्वाहीको फर्माइस समेत गरे । सडकको अवस्था सुधारलाई मुख्य प्राथमिकतामा राख्ने प्रम कोइरालाको शब्द प्रतिबद्धता राजनीतिक गफमा सीमित नहुनका लागि उनका विभागीय मन्त्रीहरु विमलेन्द्र निधि –भौतिक पूर्वाधार तथा यातायात), प्रकाशमान सिंह (स्थानीय विकास समेत), नारायण खड्का (सहरी विकास) ले समेतले कुरामा हैन काममा आफ्ना मातहतका सरकारी निकायलाई कामकाजी प्रमाणित गराउन सक्नुपर्छ । विद्युत प्राधिकरण, खानेपानी संस्थान, टेलिकमका कामले पनि सडक छिटो बनाउने कामलाई ढिला गराइरहेका छन् । त्यसैले यी सबै निकायबीच उचित समन्वयमा काम अघि बढाउन सरकार प्रमुखले आउँदा दिनमा बढी ध्यान दिनुपर्छ ।
उत्तरी छिमेकी चीनको सहायतामा विस्तारित हुँदै गरेको चक्रपथ सडकको निर्माणपछि राजधानी साँच्चै नमूना लायक बन्नेछ । वागमतीलाई ढलमति हुनबाट बचाउन शुरु गरिएको अभियान पूरा हुँदा भावी पुस्ताले हाम्रो राजधानी भनी गर्व गर्न लायक शहर बन्ने छ काठमाण्डु । संस्कृति, परम्परा, सम्पदाको शहर वातावरणीय हिसाबमा समेत परिवर्तन हुँदा यसले पर्यटकीय विकासमा अतुलनीय योगदान दिनेछ । हो, हाम्रो कामको थालनी त पूर्व प्रम डा.भट्टराईकै अगुवाइमा भयो । अब त्यसलाई पूरा गर्ने दायित्व सुशील सरकारको काँधमा छ । के सुशील नेतृत्वको सरकारले आफ्नो नीति तथा कार्यक्रममा राजधानीको सडक विस्तार अभियानलाई मुख्य प्राथमिकतामा राखेर छिटो विस्तार अभियान पूरा गर्न सक्लान त ? यसै क्रममा परीक्षित हुनेछ सुशील सरकारको विकासे प्रतिबद्धता, भ्रष्टाचार विरोधी ओठे भक्ति ।
आफ्नो हनिमून पिरियड मनाउँदै गरेको सुशील सरकारको मुख्य ध्यान सडकको जारी विस्तार अभियान चाँडो टुंगोमा पु¥याउने होस्, कुराबाट हैन कामैबाट । जताततै भत्काइएको शहरी सडक, आँखा छारो हाली बनाइएका सडकको बेहालबीच सहरवासीले फेरि सडकपेटीबाटै सरकार विरुद्ध धारे हात लगाएर गाली गर्नुपर्ने अवस्था नआओस् । अहिले जस्तो समस्याग्रस्त सडक र अलपत्र राजनीति अरु थप नहोस् यही हो जनजनको कामना । होइन त ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us