छैटौं सहवीर स्मृति खुला लनटेनिस हुने

काठमाण्डु टुडे २०७० फागुन २७ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, २७ फागुन – सशस्त्र प्रहरी बलले आगामी चैत ९ देखि १४ गतेसम्म छैटौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता २०७० सञ्चालन गर्ने भएको छ ।

सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले विभिन्न १२ स्पर्धामा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार लनटेनिसमा सर्वाधिक राशि रहेको यस प्रतियोगितामा खुला एकलतर्फ महिला तथा पुरुषलाई समानरुपले प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले दुईजनालाई १०/१० हजार प्रदान गरिनेछ भने पुरुषतर्फ क्वार्टरफाइनल पुग्ने चार जनालाई जनही पाँचहजार प्रदान गरिनेछ ।

त्यसैगरी पुरुष, महिला र मिश्रित युगलतर्फ प्रथम हुने जोडीले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले २० हजार पाउनेछन् ।

नेपाल सरकारको सरकारी सेवाहरु नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निजामती सेवा कार्यरत÷अवकाश प्राप्त कर्मचारी (राजपत्राङ्कित अधिकृतहरु)बीच खेलाइने स्पर्धामा पनि उचित पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

त्यसैगरी भेट्रान्स (३५वर्ष माथि)मा खुला एकल तथा युगल, ४५ वर्षमाथिका खुला एकल तथा एकल र ५५ वर्षमाथिका खुला एकल स्पर्धामा भाग लिई विजयी हुने खेलाडीलाई उचित पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रतिस्पर्धा सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसरस्थित नेपाल एएफपी क्लबको लनटेनिस हल र सात दोबाटोस्थित लनटेनिस कोर्टमा सञ्चालन गरिनेछ ।

सो अवसरमा अखिल नेपाल लनटेनिस एसोसिएसनका अध्यक्ष मनोज राणाले सर्वाधिक राशिको यस खेलमा देशभरका खेलाडीको सहभागिता हुने भएकाले लनटेनिसलाई अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us