धेरै नेपालीले ट्वान्टी-20 विश्वकप हेर्न नपाउने

काठमाण्डु टुडे २०७० फागुन २७ गते ११:३० मा प्रकाशित

ICC-World-Twenty20-Trophy-2014-Logo1काठमाण्डु, २७ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपाली खेलकुदको इतिहासमै सबैभन्दा ठूलो प्रतियोगिता खेल्दैछ । चैत २ गतेबाट सुरु हुने ट्वान्टी–ट्वान्टी विश्वकपमा सहभागीता जनाउन नेपाली टोली बंगलादेश पुगिसकेको छ ।

सधै अरुको खेल हेरेर समर्थन गर्न बाध्य नेपाली समर्थकहरुले यसपटक आफ्नै देशको समर्थन गर्न पाउने छन् । त्यसैले पनि टोल–टोल र गल्ली–गल्लीमा नेपाली क्रिकेटको चर्चा चुलिएको छ ।

नेपालीहरु नेपालले विश्वकप खेलेको हेर्न व्यग्र प्रतिक्षामा रहे पनि दीर्घकालीन समस्याको रुपमा रहेको लोडसेडिङले यस पटक पनि धेरैको चाहनामा तुषरापात गर्ने लगभग निश्चित छ ।

दैनिक १२ घण्टा लोडसेडिङको मार खेपिरहेका नेपालीहरुले विश्वकपका समयमा समेत नेपालको खेल हेर्न नपाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले कुनै पनि समयमा लोडसेडिङ कम गर्न सकिने अवस्था नरहेको जनाएको छ ।

‘विशेष अवसर मात्र नभएर कुनै पनि समयमा लोडसेडिङ कम गर्न सम्भव छैन, काठमाण्डु टुडेसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले भने, ‘१२ घण्टाभन्दा कम लोडसेडिङ गर्न सकिने अवस्था नै छैन । मानिसका लागि सबैक्षण उत्तिकै महत्वपूर्ण हुने भन्दै उनले माग र आपूर्तिको अन्तरलाई हेर्दा यो भन्दा लोडसेडिङ घटाउन नसकिने बताए ।

‘करिब १२ सय मेघावट विद्युतको माग छ, उनले भने, ‘हामीसँग सबै स्रोत र भारतबाट आयातीत समेत गरि जम्मा ५ सय मेघावाट विद्युत मात्रै छ ।’

ठूला कलकारखाना र बढी विद्युत खपत हुने उद्योग धन्दामा विद्युत कटौती गरेर सर्वसाधारणलाई दिन सकिन्न ? भन्ने प्रश्नमा भाटले अहिले पनि पिक आवरमा उद्योग धन्दामा विद्युत नदिएको बताए ।

नेपालको अधिकांश खेल साँझ सवा सातबजेबाट सुरु हुने र त्यो समय अत्याधिक विद्युत खपत हुने समय भएकाले लोडसेडिङ कम गर्न नसकिने उनको भनाइ छ ।

यस्तो छ, नेपालको खेल तालिका

वार्मअप खेलहरु
फागुन २८ गते बुधबार, आयरल्याण्डसँग, साँझ सवा ७ बजेबाट
फागुन ३० गते शुक्रबार, युएईसँग, साँझ सवा ७ बजेबाट

समूह चरण
चैत २ गते आइतबार हङकङसँग, साँझ सवा ७ बजेबाट
चैत ४ गते मंगलबार, बंगलादेशसँग, साँझ सवा ७ बजे
चैत ६ गते विहीबार, अफगानिस्तानसँग, दिउँसो सवा ३ बजेबाट

हालको लोडसेडिङ तालिका

Loadsheding

हेर्न चाहनेका लागि बैकल्पिक व्यवस्था
फुटबलको विश्वकप हुँदा गल्ली–गल्लीमा प्रोजेक्टरबाट खेल हेर्ने व्यवस्था मिलाउने गरिएको हुन्छ । यस्तै नेपालले सहभागीता जनाउने ट्वान्टी–ट्वान्टी विश्वकपमा पनि कतिपय स्थानमा पोजेक्टरबाट खेल देखाउने व्यवस्था गरिँदैछ ।

नेपाली क्रिकेट फ्यान क्लवले यस्ता सम्भावित ठाउँहरुको बारेमा बुझिरहेको छ । ललितपुरका लागि झम्सीखेलमा रहेको स्पोर्टबारमा प्रोजेक्टरबाट खेल देखाउन लागिएको जानकारी आफूहरुले पाएको नेपाली क्रिकेट फ्यान क्लवका महासचिव भोला न्यौपानेले जानकारी दिए ।

‘हेर्न चाहनेले खेल हेर्न पाउन् भन्ने हाम्रो उद्देश्य हो, त्यस्ता सम्भावित ठाउँहरुको खोजी गरिरहेका छौं, उनले भने, ‘हामीले पाएको जानकारी फेसबुक ग्रुपमार्फत फ्यानहरुसम्म पु¥याउने छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us