हाम्रो पार्टीमा पछिल्लो समय नीति निर्माणदेखि सानातिना राजनीतिक निर्णयसम्म शीर्ष नामका केही नेता बसेर गर्ने प्रचलन बसेको छ ।
विगतमा भावी संविधानको प्रारुप कस्तो हुनुपर्छ भन्नेबारेमा तल्लका कमिटिहरुमा कहिल्यै छलफलहरु भएनन् ।
सेना समायोजन र राज्यलाई हतियार बुझाउने निर्णय निश्चित नेताहरु र उहाँहरुलाई विश्वास लागेका केही मानिसहरुको सहभागितामा भएको हो । निर्वाचनमा पार्टी पराजित भयो । त्यसपछि कसको कारणबाट पराजय भयो भन्ने बहस छेडियो ।
पराजय र असफलताको दोष जसले पार्टी कमिटिहरुलाई छलेर निर्णय गरे उनीहरु सबैले लिनुपर्छ । पानीमाथिको ओभानो बन्ने अवस्था कसैको पनि छैन ।
उहाँहरुका बीचमा मतमतान्तरहरु थिए भने हेटौंडा महाधिवेशनमा किन आएन ? आचरण र कार्यशैलीमा सुधार गर्ने तरिका अहिले जे भइरहेको छ यसबाट सम्भवै छैन । वैचारिक र राजनीतिक कार्यदिशाको बहसका सन्दर्भमा भन्ने हो भने उहाँहरु हिजो एकै ठाउँमा हुनुहुन्थ्यो ।
फरक मत राख्ने वैद्यजीहरु बाहिर गइसकेको अवस्था थियो । महाधिवेशनमा लेखराज भट्ट र गोपाल किराँतीले संघीयताबारे आफ्ना धारणा राख्नुभएको थियो । अर्को मैले ‘सम्भव छ तेश्रो विकल्प’ शीर्षकमा समग्रमा प्रस्ताव राखेको थिएँ ।
संसदमा जानै हुन्ने भन्ने वैद्यजीहरु र संसदवादमा चुर्लुम्म डुब्ने हामीहरुका दुवै सोचहरु गलत थिए । त्यसैले मैले यी दुवै अतिबाट अलग रहेर विकल्प अघि सारेको थिएँ । तर प्रचण्ड र बाबुरामबीच केन्द्रीय समितिका बैठकहरुमा र फरक मत आएकै थिएन ।
नेताहरुका कार्यविधि र कार्यशैलीमा सुधार आयो भनेर कार्यकर्ताले बुझ्नै पाएनन् । यो सामूहिक रुपले ‘फेस’ गर्ने बेलामा यस्तो वितण्डा मच्चाउनु र गाइजात्रा देखाउनुको अर्थ बुझ्नै नसक्नु छ ।
सम्पूर्ण रुपले समर्पित भएकाहरुलाई आफ्नो ठान्ने तर अलिकति फरक मत राख्नेसँग सँगै बसेर काम गर्न सक्ने संस्कार नै देखिएन । तीस वर्षसम्म राजनीतिमा बिताएको मान्छेले यति कुरा पनि नसिक्ने ? मुलतः यो मोहनविक्रम स्कुलिङ हो ।
मैले मात्र पार्टी र नेताहरु प्रजातान्त्रिक भए भनेर पत्याइदिएर भएन नि ? उहाँहरु साँच्चै प्रजातान्त्रिक तवरले बुझ्न र व्यवहार गर्न थाल्नुभयो भन्ने कुरा जनता र कार्यकर्ताले व्यवहारमै देख्न पाउनुपर्यो नि ? पार्टीलाई जीवन जल खुवाउनुपर्ने बेलामा गुट सक्रिय बनाउन लाग्ने हो भने पार्टी ‘डिप’ कोमामा जान्छ । म बाबुरामजीको काउण्टर गरिरहेको छैन ।
जस्तो उहाँले एउटा लेखमा भन्नुभएको रहेछ ४० वर्षमुनिका नेताले नै मुलुक हाँकेका दृष्टान्तहरु संसारमा छन् भनेर । त्यो मात्र होइन पाको उमेरकाले पनि कुशल नेतृत्व गरेको उदाहरण पनि छन् । माओकै कुरा गरौं न उनले जतिबेला हामीले भन्ने गरेको ‘महान सर्वहारा साँस्कृतिक क्रान्ति’ गरे त्यतिबेला उनी जीवनकै उत्तराद्र्धमा थिए । म लामो समयदेखि कुनै पनि गुटमा लागेको छैन ।
बाबुरामजी प्रधानमन्त्री भएकै बेलामा उहाँको काम गर्ने तरिका मन नपरेर गुट छोडेको हुँ । त्यसको अर्थ नारायणकाजी वा अर्को कुनै गुटमा लागेको पनि छैन । अर्को कुरा बाबुरामजी आफैंले पटकपटक भन्नुभएको छ,‘अध्यक्ष र ममा केही फरक छैन ।’
हामीले उहाँको त्यही कुरा पत्याइयो । फेरि अहिले आएर फरक कुरा किन ? उहाँले भनेको होइन, ‘हामी एकजुट भयौं । अब पार्टीमा गुट छैन । केही पाउने आशामा मेरो पछाडि कोही लाग्नुभएको छ भने आजैबाट छोडिदिनुस् ।’ मैले त त्यही कुरा पत्याएको मात्र हो ।
अन्तरसंघर्षलाई बुझ्ने समस्या
हाम्रा नेताहरुले कल्यिै पनि अन्तरसंघर्षलाई पहिल्याउन र त्यसको सही अभ्यास गर्न सकेनन् । माओले राजनीतिक अधोपतनबाट पार्टीलाई जोगाउने उपायका रुपमा दुई लाइन संघर्षलाई अथ्र्याउनुभएको छ । तर हामीकहाँ अध्यक्ष सधैं एक मत भइरहोस् भन्ने चाहाने र अरु नेता पार्टीलाई अधोपतनबाट जोगाउन होइन आफ्नो फाइदाका लागि बेलाबेलामा दुई लाइन संघर्षको झण्डा उठाउने गर्नुहुन्छ ।
पार्टीमा त स्वच्छ दुई लाइन संघर्ष चलाउनुप¥यो । हामीकहाँ त विचित्र हुने गरेको छ । बेलाबेलामा जीवनभर नेतालाई मान्छु भन्ने, उहाँमै विलय भएँ भन्ने चलन छ । यो कुनै पनि अर्थमा माक्र्सवादसम्मत कुनै होइन ।
सम्भव छ तेस्रो विकल्प
अहिले परम्परागत सशस्त्र संघर्ष गर्ने बेला होइन र संघर्षलाई पूर्ण रुपमा बिसाउने बेला पनि होइन । हामीले त समाज रुपमान्तरणका पक्षमा निरन्तर संघर्ष गरिरहने हो । ‘चुनावदेखि चुनाव’ र ‘संसददेखि संसद’ सम्मको रटान छाड्नुपर्छ ।
नेताहरुबीच कस्तो सम्बन्ध चाहिन्छ
हाम्रोमा नेताहरुबीच अतिवादी सम्बन्ध छ । मिल्दा विलय नै भएँ भन्ने र केही नमिलेजस्तो हुने बित्तिकै गाँड कोराकार गर्ने ? यस्तो तरिकाले कतै पनि पु¥याउँदैन । हामीले त फरक मत राख्नेसँग पनि मिलेर काम गर्ने संस्कार बसाल्नुपर्यो ।
कस्तो पार्टी बनाउने ?
कम्युनिष्ट पार्टीहरुमा संघर्ष भन्ने बित्तिकै सशस्त्र संघर्ष बुझ्ने रोग छ । तर अहिले निशस्त्र तर सशक्त आन्दोलन गर्ने बेला हो । पार्टी कमिटिहरुको निर्माण र सञ्चालन प्रजातान्त्रिक तवरले गर्नुप¥यो ।
नेताले छुसछुस दिने जनवादले अब माखो मर्नेवाला छैन । विश्वका विभिन्न देशमा कम्युनिष्टहरुले प्रताजन्त्रको राजनीतिक पक्षलाई छोडे । तर प्रजातन्त्रवादी देखिने नाममा संसदवादमै फस्ने रोग हामीमा देखियो ।
यो एमालेबाट हामीमा सरेको रोग हो । फेरि संघर्ष भन्नेबित्तिकै जंगलै जानुपर्दैन । संसदबाहिर पनि संघर्षका लागि ठूलो ठाउँ छ ।
नेतृत्व हस्तान्तरणबारे
हामीकहाँ नेतृत्व हस्तान्तरणको बहस पनि बेलाबेलामा चल्ने गरेको छ । नेपालमा अहिलेसम्म सहज ढंगले नेतृत्व हस्तान्तरण भएकै छैन । त्यो भएको छ त केबल षड्यन्त्रद्वारा मात्र ।
नेताले आफ्नो सोचबाट अलिकति पनि दायाँबायाँ नजाओस भन्ने हिसाबले उत्तराधिकारी तयार पार्ने गरेको इतिहास छ । भक्त खोजेर उत्तराधिकारी बनाउने प्रचलनले नै कम्युनिष्ट आन्दोलन मरिच झैं चाउरिएको हो ।
लिबरल डेमेक्रेकेसीको वकालत गर्नेहरुको हालत पनि उही छ । क्षेत्रीय राजनीतिको कुरा गर्ने हो भने श्रीलंकामा दुईवटा परिवारले शासन चलाएको ५० वर्ष पुगेको छ । भारतमा गान्धी परिवार भनेर चिनिने काश्मिरी पण्डितहरुको परिवारको हालीमुहाली छ ।
बंगलादेशमा शेख परिवार त्यस्तै छ । त्यहाँ पूर्वराष्ट्रपतिका दुई जना विधवाको मारामार छ । पाकिस्तानमा पञ्जावका जमिनदार र सिन्धका औद्योगिक घरानाले पालौपालो रजाईं गर्दै आएका छन् ।
(एमाओवादी नेता राम कार्कीसँग गरिएको कुराकानीमा आधारित)