निर्वाचन बिथोल्ने तालिवानको योजना

काठमाण्डु टुडे २०७० फागुन २६ गते ८:५१ मा प्रकाशित

काबुल, २६ फागुन – अफगानिस्तानका तालिवानहरुले त्यहाँ आगामी अप्रिल ५ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन जसरी भए पनि बिथोल्ने योजना बनाएको खुलासा गरेका छन् ।

उनीहरुले अप्रिल ५ अगावै निर्वाचन केन्द्रहरुमा आक्रमण गर्ने, निर्वाचनमा खट्ने कर्मचारीहरुलाई भौतिक रुपमा करबाही गर्ने तथा उम्मेदवारहरुलाई नै लक्षित गरी विभिन्न आक्रमणका घटना गराउने जनाएका छन् ।

उनीहरुले आगामी सो निर्वाचनले देशमा जारी रहेको हत्या हिंसाको समाधान नगर्ने र त्यस्तो नेतृत्व पनि पश्चिमा राष्ट्रहरुकै निगरानीमा आउने भन्दै तत्कालै निर्वाचन रोक्न माग गरिरहेका थिए ।

यो उनीहरुको पछिल्लो धम्कीपूर्ण योजनाको सार्वजनिकीकरणले अफगानिस्तानको सो निर्वाचनमा थप हिंसा हुने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यद्यपि यो निर्वाचनका लागि अधिकारीहरु सजग र सचेत रहेको पनि बताएका छन् ।

यस्तै हिंसा यसअघि सन् २००९ मा भएको राष्ट्रपतीय निर्वाचनमा पनि भएको थियो । सो निर्वाचनमा पनि अफगानिस्तानमा कम्तीमा पनि ३१ जना नागरिक तथा सुरक्षाकर्मीको ज्यान गएको थियो ।

त्यसैगरी  सो समयमा पनि निर्वाचन बहिस्कार गर्न भनी तालिवानहरुले निकै धम्की दिएका थिए । तरपनि सो धम्कीमा बाबजुद त्यहाँ निर्वाचन भने समयमै सम्पन्न भएको थियो ।

तर धाकधम्की एवम् यस्ता हिंसाकै बीचमा पनि आवधिक रुपमा निर्वाचन गर्न सकिएकोले अफगानिस्तानमा विधिको शासन स्थापना गर्न र नियमित रुपमा राज्य व्यवस्थाका निकाय सञ्चालन गर्न सघाएको प्रतिक्रिया पश्चिमा राष्ट्र तथा दाता राष्ट्रहरुको छ ।

अफगानिस्तानमा आगामी अप्रिल ५ तारिखमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस निर्वाचनले वर्तमान राष्ट्रपति हमिद कारजायीका उत्तराधिकारी छान्ने छ ।
तालिवान संगठनले सोमबार उनीहरुको एक वेभसाइटमा विज्ञप्ति प्रकाशन गरी भनेको छ– हामीले  हाम्रा लडाकूहरुलाई निर्वाचनलाई केन्द्रित गरी यसका विरोधी क्रियालापहरु सञ्चालनका लागि निर्देशन दिएका छौं ।

उनीहरुले यस निर्वाचनलाई नाटकको संज्ञा दिएका छन् र भनेका छन् यो विदशीले गराइदिएको निर्वाचन हो र यस्ता निर्वाचनबाट कुनैपनि समस्याको समाधान हुनेवाला छैन ।

सो विज्ञप्तिमार्फत उनीहरुले उक्त निर्वाचनका कुनैपनि कार्यक्रमहरुमा सहभागी नहुन उनीहरुले आग्रह गरेका छन् ।

तर यदि यस आग्रहलाई पनि अस्वीकार गरी उनीहरु निर्वाचनमा सहभागी हुने वा निर्वाचन अधिकारीहरुलाइ सहयोग गर्ने वा मतदानमा आफै सहभागी हुने काम गरेमा उनीहरु पनि कारबाहीको भागिदार हुने पनि उनीहरुले बताएका छन् ।

तर सरकारले भने निर्वाचनको पूर्ण सुरक्षाको व्यवस्था गरेको जनाएको छ ।

सरकारले मतदानमा सहभागिताका लागि सुरक्षित र भरपर्दाे वातावरण मिलाइएकोले त्यसमा सहभागिताका लागि सबैलाई आग्रह गरेको छ । तर तालिवानहरुको यस धम्कीका कारण भने उक्त निर्वाचनका क्रममा ठूलो हिंसा हुनसक्ने आशङ्का गरिएको विश्लेषकहरु बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us