
काठमाण्डु, २४ फागुन – विश्वले आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहदा, नेपाली चेलीहरु अफ्रिकी मुलुकमा आफ्नो जिऊ सकि नसकिन मर्कारहेका छन् ।
झापा, बुधाबारे घर भएकी २१ बर्षीया सुस्मिता शर्मा पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी नैरावी पुगेको ७ दिन भयो ।
झापाको काँकडभिट्टा हुँदै सिलिगुडीबाट कोलकाता र त्यहाँबाट विमान चढेर उनी नैरोवी पुगेकी थिइन् । नैरोबी पुगेकै दिनदेखि उनले पार्कल्याण्डको एउटा डान्स सेन्टरमा ‘नसोचेको नाचगान’ गर्न पुगिन् ।
केन्याको नैरोवी र मोम्बासा सहरमा एक दर्जन डान्स सेन्टर छन् । जसलाई भारतीय मूलका स्थानीयले चलाउने गर्छन् ।
अधिकांश डान्स सेन्टरमा पुग्ने नेपाली युवति २० बर्ष माथिका छन् । ‘अन अराइभल भिसा’ पाइने केन्या र तान्जानियामा पर्यटक भिसामा तीन महिनाका लागि युवती ल्याएर रातभर डान्स सेन्टरमा नचाउने र दिनभर अज्ञात कोठामा थुनेर राख्ने एजेन्टहरु भारतीय र पाकिस्तानी मूलका छन् ।
‘हाम्रो पासपोर्ट रेस्टुराँ मालिकसँग छ, सातामा एक दिन पनि छुट्टि पाइदैन । ’ के–वन डान्स सेन्टरकी २५ बर्षीया तामाङ्ग थरकी युवतीले नाच्नेक्रममा बताइन् । केन्याको नियम अनुसार ग्राहकको फर्माइस अनुसार नाच्न सके केटी माथि पैसा फाल्न पाइन्छ ।
तर, त्यो पैसा तत्काल वेटरले उठाएर मालिकसँग पु¥याउछ । धेरै जसो नेपाली कलाकार बताउनेहरु त्यहाँ पुग्ने गरेका छन् ।