
काठमाण्डु, २२ फागुन –नेपाल प्रिमियर लिग ( एनपिएल) क्रिकेट प्रतियोगिता सुरु नहुँदै विवादमा तानिएको छ ।
एनपिएल नाम राखिए पनि आयोजक निजी कम्पनी भएकाले एसियाली क्रिकेट परिषद् (एसिसी) ले आपत्ति जनाएको छ ।
एसिसीले एनपिएलबारे प्रश्न उठाउँदै क्यानलाई पत्राचार गरिसकेको छ ।
पत्रमा म्याच फिक्सिङ्ग भए जिम्मेवारी कस्ले लिने भनेर प्रश्न गरिएको छ ।
भारतमा क्रिकेटर कपिल देवले सुरु गरेको आइसिएल निजी कम्पनीको भन्दै खारेज गरिएको थियो । एसिसीले पठाएको पत्रमा एनपिएल शिर्षकमा नेपाल क्रिकेट संघले मात्रै आयोजना गर्न पाउने उल्लेख गरेको छ ।
साथै अन्य निजी संस्थाले यो शीर्षकबाट आयोजना गर्नु एसिसी र आइसिसीको कोड विपरीत हुने भन्दै सचेत समेत गराएको छ ।
एनपिएल आयोजनाको जिम्मेवारी निजी क्लवलाई दिएको भन्दै क्यानमा समेत विवाद भएको छ ।
क्यान आफैले तयारी गरिरहँदा अन्य पदाधिकारीले थाहा नै नदिई टंक आङबुहाङले सुटुक्कै जोहारा कम्पनीलाई दिएको आरोप लागेको छ ।