जेठी महिलाले मनाईन ११६ औं जन्मदिन

काठमाण्डु टुडे २०७० फागुन २१ गते १३:१४ मा प्रकाशित

टोकियो, २१ फागुन । विश्वकै सबैभन्दा जेठी महिलाले बुधबार आफ्नो ११६ औं जन्मोत्सव मनाएकी छिन् ।

उनले नर्सिङ होममा बुधबार आफ्नो ११६ औं जन्म दिन मनाएकी हुन् । समाचारमा भनिएको छ– पश्चिमी जापानी सहर ओसाका निवासी मिसाओ ओकावा नामकी ती महिलाले केक काटेर र मैनबत्ती फुकेर आफ्नो जन्मदिन मनाएकी छिन् ।

ओसाकामै रहेको एक नर्सिङ होममा उनले जन्म दिन मनाएको समाचारमा जनाइएको छ । उनलाई जन्मदिनको शुभकामना दिन उक्त सहरका मेयर सोही नर्सिङ होममा पुगेका थिए ।

उनलाई सरकारले दिएको सुविधास्वरुप आफ्नै घर नजिकैको नर्सिङ होममा राखिएको हो ।

गुलावी रङ्को किमोनो लगाएकी र रातो फूलमा सजिएकी उनले सो सहरका मेयर ताकेहिरो ओगुराले दिएको शुभकामना ग्रहण गरेको समाचार बुधबारका सञ्चारमाध्यमहरुमा दिइएको छ ।

जन्मदिनको शुभकामना दिनका लागि त्यहाँ पुगेका सञ्चारकर्मी एवम् अन्य व्यक्तिहरुले उनको अनुभवका बारेमा गरेको प्रश्नको प्रतिक्रिया दिँदै उनले भनिन– यो निकै नै लामो समय हो ।

उनका लागि ११६ वटा मैनबत्ती र निकै नै ठूलो आकारको केक दिइएको छ र यसका साथ उनले पटक पटक आफ्नो गाउँले र आफन्तहरुसँग शुभकामना लिइरहेकी छिन्– नर्सिङ होमका कर्मचारीले बताएका छन् ।

उक्त नर्सिङ होमका स्वास्थ्यकर्मीहरुले भनेका छन्– उनको स्वास्थ्य अवस्था राम्रो छ र हालैका दिनमा उनको शरीरको तौल पनि बढेको पाइएको छ । उनले जापानी खानाहरु सुसी, स्पागेती, गाइको मासु र सासिमी नियमित रुपमा खाने गर्छिन ।

सुसी माछा र भातको एक परिकार हो, र त्यो जापानी नागरिकहरुमा निकै नै लोकप्रिय छ । उनलाई मिठो खाना खान र एकान्तमा बस्न खुब मनपर्छ– सो नर्सिङ होमका कर्मचारीले भने । उनका अनुसार ती महिलाले हालैका दिनमा आफू निकै नै खुशी भएको बताउँदै आएकी छिन् ।

उनले आफू लामो समयसम्म बाँच्नुको रहस्य पनि आफूलाई भेट्न जाने सबैसँग बताउने गर्छिन । उनले गतवर्षमात्र विश्वको सबैभन्दा जेठी महिलाको प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us