सञ्चार उद्यमी सिङ्घानियाका हत्यारा पक्राउ

काठमाण्डु टुडे २०७० फागुन १९ गते ७:१३ मा प्रकाशित

pakrau-arrestजनकपुरधाम, १९ फागुन – जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानियाको हत्या तथा जनकपुर बम काण्डका आरोपी मुकेश चौधरीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

चौधरीलाई भारतमा पक्राउ गरी नेपाली प्रहरीलाई बुझाइएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ ।

भारतीय प्रहरीले नेपालगन्जमा आइतबार चौधरीलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । चौधरीले २०६६ फागुन १७ गते सञ्चार उद्यमी सिङ्घानियाको हत्या र २०६९ साल वैशाख १८ गते रामानन्दचोकमा बम विस्फोट गराएका थिए ।

सो बम विस्फोटमा पाँचजनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएका थिए । तराई जनतान्त्रिक पार्टी र तराई विद्यार्थी लिवरेसन फ्रन्टका अध्यक्षका रुपमा चौधरी प्रकाश विद्यार्थी र अर्जुन चौधरी नामबाट तराईमा हत्या, चन्दा आतङ्क, अपहरण, धम्की दिने कार्य गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us