संविधान बन्ने पत्तो छैन, कसले हस्ताक्षर गर्नेमा विवाद

काठमाण्डु टुडे २०७० फागुन १८ गते १३:४० मा प्रकाशित

काठमाण्डु, १९ फागुन– प्रमुख दुई दल काँग्रेस र एमालेबीच नयाँ बन्ने संविधान राष्ट्रपति वा संविधानसभा अध्यक्ष मध्ये कसले प्रमाणीकरण गर्ने भन्नेमा NC-&-UCPNMविवाद चुलिएको छ ।
संविधानसभाबाट संविधान जारी हुने वा नहुने भन्ने आशंकाका बीच प्रमुख दुई सत्तारुढ घटक संविधानमा कसले हस्ताक्षर गर्ने भन्ने विवादमा अल्झिएका हुन् ।
संविधानसभा नियमावली मस्यौदा समितिको बैठकमा काँग्रेसले राष्ट्रपतिबाट र एमालेले संविधानसभा अध्यक्षबाट संविधान प्रमाणीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने अडान लिएको छ ।

राष्ट्रपति रामवरण यादव काँग्रेस र सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमाले पृष्ठभूमिका हुन् । एमालेले अघिल्लो संविधानसभाको नियमावलीमा रहेको व्यवस्था यथावत राख्नुपर्ने बताएका छ भने काँग्रेस पूरानो व्यवस्था फेर्नुपर्ने पक्षमा छ ।

अघिल्लो संविधानसभा नियमावलीमा संविधानसभाका दुई तिहाई सदस्यले स्वीकृत गरेपछि संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्ने र राष्ट्रपतिले संविधान जारी गर्ने व्यवस्था थियो ।

यस्तै मस्यौदा समितिमा संविधानसभाभित्र दबाब समूह ‘ककस’ निर्माण गर्न पाउने नपाउने वा दलीय ह्वीप लगाउन दिने/नदिने भन्नेमा पनि विवाद छ । ककस निर्माण गर्न दिन नहुनेमा भने काँग्रेस–एमाले एक मत देखिएका छन् ।

ककसकै कारण अघिल्लो संविधानसभाबाट संविधान जारी हुन नसकेको दाबी उनीहरुको छ । समितिमा रहेका साना दलका सभासदले भने ककस बनाउन पाउनुपर्ने र संविधानसभामा ह्वीप लाग्न नहुने बताएको समिति सदस्य गोपाल दहितले काठमाण्डु टुडेलाई जानकारी दिए ।
विवादकै कारण थपिएको एक साताको समयमा पनि समितिले मस्यौदा तयार पार्न सकेको छैन ।

संविधानसभाले गत २९ माघमा गठन गरको ४९ सदस्यीय समितिले पहिलो एक साताको समयमा मस्यौदा तयार गर्न नसकेपछि थपिएको एक साताको समय पनि शनिबार सकिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us