राउटे मुखियालाई सरकारी जागिर

काठमाण्डु टुडे २०७० फागुन १६ गते ६:४४ मा प्रकाशित

RAuteसुर्खेत, १६ फागुन – वर्षौंदेखि जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे जातिका मुखियाहरुले सरकारी जागिर खाने भएका छन् । जिल्ला वन कार्यालय सुर्खेतले वन हेरालुका रुपमा उनीहरुलाई सरकारी जागिर दिन लागेको हो ।

राउटेहरु जागिर खान सहमत भएपछि प्रक्रिया अगाडि बढाइएको जिल्ला वन कार्यालयले जनाएको छ ।

कार्यालयका जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासियाका अनुसार फागुन २१ गते राउटे मुखियाहरुले जागिरका लागि निवेदन दिने र त्यसै दिन उनीहरुलाई वन हेरालुमा नियुक्त गरिने निर्णय भएको छ ।

राउटे मुखियाहरु ऐनबहादुर शाही, सूर्यनारायण शाही, वीरबहादुर शाही र डिलबहादुर शाहीले वन हेरालुको जागिरे हुनेछन् । सुर्खेत हुँदा वन हेरालुका रुपमा नियुक्त गरिएका उनीहरुलाई जुन जिल्लामा बस्ती सरेर जान्छन्, त्यही जिल्लाबाट तलब दिने व्यवस्थासमेत गरिने जिल्ला वन कार्यालयले जनाएको छ ।

वन हेरालुमा नियुक्त भएका राउटेहरुले वनमा लागेको आगो निभाउनेदेखि जथाभावी रुख काट्नु हुँदैन भनी आफ्ना समुदायलाई सचेत गराउने काम गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us