सरकार काँग्रेसीले नै ढाल्ने !

काठमाण्डु टुडे २०७० फागुन १६ गते ८:२५ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, १६ फागुन – सरकार आफ्नै पार्टीको नेतृत्वमा छ । तर पनि नेपाली काँग्रेसभित्र असन्तुष्टि पनि उत्तिकै छ ।

सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा खुलेको ‘गुट’ मा पर्छन् । यो गुट निक्कै पुरानो पनि हो । तर अदृश्य गुट काँग्रेसभित्र मौलाउँदै छ । त्यसैको शिकार हुँदैछ कोइराला सरकार । उपप्रधामन्त्रीको कुर्चि ताकेका महामन्त्री प्रकाशमान सिंह, सदस्य डाक्टर रामशरण महत, र मन्त्रीका लागि खुट्टा उचालेका अर्जुननरसिंह केसीलगायतका नेताको ‘उपगुट’ अहिले सलबलाउन थालेको छ ।

संविधानसभा निर्वाचनबाट ठूलो दल बन्दा पनि पार्टीमा बर्चश्व जमाएका नेता आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारमा नपरेपछि काँग्रेसभित्र सरकार ढलाउने र बनाउने चर्चा छ । यो चर्चाको पुष्टि काँग्रेस नेताले सार्वजनिक रुपमा बोलेका कुराले गर्छ ।Sushil-Koirala

शुक्रवार प्रकाशित एक दैनिक पत्रिकालाई दिएको अन्र्तवार्तामा अर्जुननरसिंह केसीले भनेका छन् ‘मन्त्री छान्दा पार्टीमा गुटबन्दी हाबी भयो । ’ केसी,  कोइराला – देउवाबीच बिवाद बढ्दा मध्यस्तकर्ताको भूमिकामा उभिएका थिए । केसीले भनेका छन् ‘पार्टीभित्र मन्त्रीका लागि जुन गुट, उपगुट बन्यो यसले काँग्रेसलाई जनताको नजरबाट गिराउछ ।’ पार्टीको हित अनुसार सरकारमा मन्त्री नपठाएको केसीको तर्क छ ।

कोइराला सरकारमा केसी मन्त्री बन्ने ठूलै हल्ला चलेको थियो । केसीका अनुसार सरकारमा जाने प्रतिनिधी चयन गर्दा सन्तुलन पटक्कै मिलेको छैन् । वर्तमान सरकार र पार्टीबाट मन्त्रीमा जानेप्रति केसीको तिव्र असन्तुष्टि छ । त्यस्तै उपप्रधानमन्त्रीको जिम्मेवारी पाउने आशामा ‘बिना बिभागिय’ मन्त्रीका रुपमा सपथ खाएका डाक्टर रामशरण महत अन्तत : पुरानै मन्त्रालय अर्थमा पुगेका छन् ।

उपप्रधानमन्त्रीको आकांक्षी महत, महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएपछि सन्तुष्ट छैनन् । प्रकाशमानले उपप्रधान नपाएसम्म सरकारमा नजाने बताएपछि सभापति कोइराला संकटमा परेका थिए । मन्त्रालय बाँडफाडमा उपप्रधान सिंहले पाएपछि सभापति कोइराला र महतबीच भनाभन नै चलेको स्रोतको दावी छ । त्यसैको झल्को दिने एउटा अन्र्तवार्ता महतले पनि एउटा दैनिक पत्रिकालाई दिएका छन् ।

महतले भनेका छन् ‘मेरो दाबी उपप्रधान मन्त्रीमा थियो । ’ महतले अर्थ मन्त्रालय आफूले रोजेको नभइ बाध्यतामा लिन परेको उल्लेख गरेका छन् । महत थप्छन् ‘मैले रोजेको होइन, अर्थ धेरै चलाएकाले पनि मलाई दिइएको हो तर मेरो माग उपप्रधान थियो । ’ अर्थमन्त्रालयको जिम्मा महेश आचार्यलाई दिएर महत उपप्रधानमन्त्रीमा जाने भएका थिए ।

केसीलाई मन्त्री बन्न नपाएको झोंक, महतलाई उपप्रधान नपाएको गुनासो, दलित प्रतिनिधी समावेश नगराएको रोष, कोइराला सरकारका लागि चुनौति हुनेछन् । एक नेताका अनुसार काँग्रेस नै सरकार ढाल्छ । उनले भने‘ हिजो एमालेभित्र देखिएको सरकार ढाल्ने र बनाउने सिको अहिले काँग्रेसले गर्दैछ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us